Logo

सुदूरपश्चिम प्रदेश

विकट बस्तीहरुमा खानेपानी उपलब्ध



डडेल्धुरा जिल्लाको परशुरामनगरपालिका–३ का कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टा गाउँमा खानेपानी उपलब्ध भएको छ । विकट बस्तीका रुपमा रहेको ती गाउँका ११६ उपभोक्ताले अहिले खानेपानी सहज रुपमा उपभोग गर्न पाएका हुन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत आर्थिक वर्षदेखि कालापातल, कालीढुङ्गी, आमथला, हल्द्वानी, सिमल्टामा खानेपानी आयोजना कार्यान्वयन गरेको थियो । आयोजनामार्फत छ किलोमिटरको दूरीमा रहेको कालापातल खोलाबाट चारवटै बस्तीसम्म खानेपानी पुर्याईएको हो । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु तीन करोड ४८ लाख बजेट खर्च भएको थियो । लकडाउन अवधिमा पाइप लाइन निर्माणकार्य सम्पन्न भई बस्तीसम्म खानेपानी पुगिसकेको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले जानकारी दिए ।

मुहानदेखि बस्तीसम्म खानेपानी पुर्याउन निकै चुनौतीपूर्ण भए पनि शीर्षखोलामा रोपवे क्रसिङ गरेर खानेपानी बस्तीसम्म पुर्याउन सम्भव भएको कार्यालयका इञ्जीनियर गोविन्द देवकोटाले बताए । अहोरात्र खटेर काम गरेकाले लक्ष्यभन्दा केही समयअघि नै योजना सम्पन्न हुने चरणमा पुगिसकेको उनले बताए । स्थानीय बासिन्दाले अहोरात्र श्रमदान समेत गरेका थिए । खानेपानीको चरम अभाव झेलिरहेको अमरगढी नगरपालिका–१० राईगाउँमा समेत चालू आर्थिक वर्षमा खानेपानी पुगिसक्ने कार्यालयले जनाएको छ ।

नवदुर्गा गाउँपालिका–४ को दलित बस्तीमा समेत चालु आवमै खानेपानी योजना निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयका डिभिजन प्रमुख रबिन श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  १ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।