Logo

केरुङ–काठमाडौँ रेलमार्ग डीपीआर बनाउन चीन सकारात्मक



आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ ।

प्रस्तावित सो रेलमार्गको निर्माण तथा सञ्चालनबारे दुई मुलुकका पदाधिकारीबीच बिहीबार भएको छलफलमा उक्त रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्ष सकारात्मक भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसअघि सो रेलमार्गको डीपीआर तयार गरिदिन नेपालले चीन सरकार समक्ष औपचारिक प्रस्ताव गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भर्चुअल बैठकमा नेपालका तर्फबाट नेतृत्व गरेका मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले चीनले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन तयार गरिदिन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट सचिव श्रेष्ठका साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा रेल विभागका महानिर्देशकको सहभागिता थियो । चीनका तर्फबाट नेसनल रेल्वे एड्मिनिस्ट्रेसनका उपप्रशासक आङ लु सीले नेतृत्व गरेका थिए ।

यसअघि नै प्रस्तावित सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । भौतिक सचिव श्रेष्ठले बैठकमा नेपालले सो रेलमार्गको डीपीआर तयार गरिदिन चिनियाँ पक्षलाई आग्रह गरेको थियो । नेपालको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको र छिट्टै काम सुरु गर्नेछ भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ८ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।