Logo

स्वास्थ्य

खोटाङमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा



खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न बिहीबारदेखि वडा नम्बर–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।

एक नम्बर प्रदेश सरकारको रु दश लाख सहयोगमा सो अस्पताल सञ्चालनमा आएको हो । अस्पतालको समयावधि सकिएपछि पनि निरन्तरता दिने गरी सञ्चालन गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए । “अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितका साथै सामान्य बिरामीको समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “भिडियो एक्स–रे र ल्याबसहितको सेवा दिने गरी स्थापना गरिएको अस्पताललाई कोरोना सङ्क्रमण निर्मूल भएपछि पनि निरन्तरता दिने योजना बनाएका छौँ ।” डा कृष्ण राउतसहित दुई जना स्टाफनर्स र एक जना कार्यालय सहयोगीले सेवा दिन शुरुआत गरेका छन् । तीन महिनासम्म प्रदेश सरकारको लगानीमा सञ्चालन हुने अस्पताललाई नगरपालिकाले निरन्तरता दिने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । ११  वडा रहेको नगरपालिकामा यसअघि चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारी तथा विभिन्न काममा बाहिरबाट आएका उनीहरु चारै जना उपचारपछि सङ्क्रमणमुक्त भइसकेका नगरपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पाँच श्ययाकै अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । जिल्लाका अन्य स्थानीय तहमा पनि धमाधम स्थापनाको काम भइरहेको पाइएको छ । त्रिधार्मिकस्थल हलेसीसमेत रहेको उक्त नगरपालिकामा यही मङ्सिर–१५ गते १५ श्ययाको अस्पतालसमेत शिलान्यास गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाका छ स्थानीय तहमा अस्पताल निर्माण हुँदैछ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, रावाबेँसी, ऐसेलुखर्क, जन्तेढुङ्गा र साकेला गाउँपालिकामा यस वर्ष अस्पताल बन्ने सांसद विशाल भट्टराईले जानकारी दिए ।

जिल्लाको एकमात्र १५ श्ययाको अस्पतालसमेत यसै वर्ष ५० श्ययामा स्तरोन्नति हुँदै छ । करिब रु ५५ करोड लागतमा निर्माण हुने जिल्ला अस्पतालको बोलपत्र आह्वान गर्ने तयारी गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । विसं २०४८ मा स्थापना भएकोे जिल्ला अस्पताल अहिलेसम्म पनि स्तरोन्नति नहुँदा कतिपय बिरामीलाई भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  १२ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।