Logo

राजनीति

राजावादीहरुको प्रदर्शनमा बम हान्ने बिप्लवको चेतावनी, भारतकी छोरी हिमानीलाई सत्ता दिन सकिदैन



काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय राजसंस्था र हिन्दुराज्यको पक्षमा भइरहेको प्रदर्शनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विप्लवको नेकपाले ‘दक्षिणपन्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सामन्तवादी सत्ताका नाइकेले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ ।

विप्लवको नेकपाका एक केन्द्रीय नेताले ‘राजसंस्था’को पक्षमा ‘केही पश्चगामी तत्व’ले प्रदर्शन गरेकोप्रति पार्टी गम्भीर रहेको बताएका हुन् । उनले देशमा संकट आउने परिस्थितिमा आफ्नो पार्टी चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन् ।

‘तत्कालिन शासक ज्ञानेन्द्र शाहको शासन उनको व्यापारिक चरित्र, अदुरदर्शिता र स्वाभिमानी नेपाली जनतामाथि उनले गरेको दमनले ढलेको हो, यो कुरा ३ करोड नेपाली जनतालाई थाहा छ, अब फेरि ज्ञानेन्द्र वा उनका छोरा–नातीलाई शासक बनाउने कुरा स्वाभिमानी नेपाली नागरिकलाई स्वीकार्य हुँदैन,’ ती नेताले भने ।

जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेकी सरिता गिरीको प्रसंग उल्लेख गर्दै ती नेताले पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस शाह र उनको परिवारका अन्य सदस्यबाट देशलाई झनै ठूलो खतरा रहेको बताएका छन् ।

‘ज्ञानेन्द्रले यो प्रदर्शनसँग आफ्नो सरोकार छैन भनिसकेको प्रतिप्रेक्ष्यमा भारतको राजस्थानमा जन्मिएकी भारतीय चेली नेपालकी बुहारी हिमानी शाह र तिनका सन्तानलाई सत्तामा राख्न कसरी मिल्छ ?,’ ती नेताले प्रश्न गर्दै भने, ‘हेक्का रहोस्, भारतीय चेली सरिता गिरीभन्दा अर्की भारतीय चेली हिमानी शाहबाट नेपाल देशलाई बढी खतरा छ ।’

 

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  ६ : २२ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।