बुधवार, पौष १ २०७७
काठमाडौँ
नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा २३ लाख रुपियाँ जम्मा गरेको छ । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने र बाँकी ३ लाख रुपैयाँ कोरोना महामारीका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने गत साउनमा बसेको बैठकमा शाखाका अध्यक्ष नरेश खपांगीमगरले बताएका थिए ।
कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा हजारौं पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि सैयौंको संख्यामा पत्रपत्रिका लगायत थुप्रै एफएम रेडियो स्टेशनहरु बन्द भएका छन् । रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ ।
यसअघि पनि तत्कालिन अध्यक्ष चिरन शर्माको कार्यकालमा भूकम्प पीडित पत्रकारको लागि नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा बेलायत शाखाको तर्फबाट १३ लाख रुपैयाँ सहयोग गरिएको थियो ।