Logo

अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प



वर्षात्को समयमा बाढीपहिरोको प्रकोप खेप्दै आएको सिन्धुपाल्चोकमा बुधबार बिहान फेरि भूकम्प गएको छ । भूकम्प सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु बनाएर ६ रिक्टरस्केलको गएको हो ।

सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकबासीमा बुृधबारको भूकम्पले थप त्रास बढेको छ।  यद्यपी भूकम्प शक्तिशाली भएपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको बताए ।यता भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तीनपटकसम्म भूकम्पले हल्लाएको बताए । अहिले सिन्धुपाल्चोकमा त्रास फैलिएपनि क्षतिको विवरण आइनसकेको बताए । उनले भने, ‘म पनि गाउँमा छु । अहिलेसम्म कहाँ के कति क्षति भयो भन्ने विवरण आएको छैन।’

यस्तै बाह्रबिसे नगरपालिकाकी उपाध्यक्ष  सुशीला पाख्रिने पनि अहिलेसम्म क्षतिको विवरण नआएको बताइन् । ‘हामी बुझ्दै छौँ । भूकम्पको केन्द्रबिन्दु रहेको राम्चे क्षेत्र बाह्रबिसे–९ मा पर्छ ।’राम्चे बाह्रबिसे र बलेफी गाउँपालिकाको सिमानास्थित जुरेको माथिल्लो भाग हो ।

प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार  ६ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।