बुधवार, पौष २२ २०७७
काठमाडौँ
सिन्धुपाल्चोकको मेलम्चिमा जन्मिएकी विशाखा गिरी स्थापित गायिका र उदीयमान कलाकार हुन् । काँठे लोकदोहोरी गायनबाट नेपाली सांगितिक फाँटमा उदाएकी उनी पछिल्लो समय हास्य व्यंग्य टेलिसिरियलमा पनि उत्तिकै दमदार ढंगले जम्न थालेकी छन् ।
गिरीको गायकी क्षमतासँगै अभिनय र मोडलिङमा पनि उत्तिकै दख्खल देखिन्छ । विवाहभन्दा करियरलाई केन्द्रमा राखेर अगाडि बढेकी गिरी निरन्तर लगाव र इच्छाशक्तिलाई सफलताको कडी ठान्दछिन् । उनै गिरीसँग अनलाइनपानाका लागि कालिका महतले गरेको रमाइलो कुराकानी :
गायनतिर देखिनु हुन्न के गर्दै हुनुहुन्छ ?
अहिले म टेलिसिरियलतिर खेल्न लागेकी छु । त्यहीं हुनाले गायनतिर त्यति समय दिन पाएकी छैन ।
दोहोरी गाउन छोड्नुभयो ?
पछिल्लो समय मैले त्यति गीत गाएको छैन । एक महिना अगाडि ‘हितैको दौतरी’ नामक गीत गाएकी थिएँ । त्यो गीतमा मोडलिङ गर्ने मौका पाएकी थिएँ ।
मोडलिङ पनि गर्नु हुुन्छ ?
चाच्न त्यति राम्रो नआए पनि अभिनय गर्छु ।
कति वटा टेलिसिरियलमा खेलिसक्नुभयो ?
मैले अहिलेसम्म पाँचवटा टेलिसिरियलमा खेलिसकेकी छु । ‘प्राप्ति’, ‘लैबरी लै’ त्यसपछि गौथलीमा चाहीं नियमित खेलिरहेकी छु ।
तीनवटामा नियमित खेलिरहनुभएको छ ?
खेलिरहेकी छु । तिनीहरुमा ‘प्राप्ति’को भाग चारसम्म नियमित लेखिरहेकी छु । आजै पनिसुुटिङ गएर आएकी हुँ । त्यसैगरी ‘नौटंकी’ आउँदैछ । ‘माइली’ टेलिसिरियलमा पनि भाग तीनदेखि गर्ने मौका पाएकी छु ।
लोकदोहोरी गायिका टेलिफिल्मतिर कसरी आकर्षित हुनुभयो ?
लकडाउनको समयमा घरमै बसिरहेकी थिएँ । त्यसै सन्दर्भमा स्मृति गौतम दिदीले टेलिसिरियलतिर खेल्छौ भनेर सोध्नुभयो । मैले पनि हुन्छ भने । यतातिर पनि अनुभव लिम् न त भन्ने लाग्यो । स्मृति दिदीसँग सूर्यकुमार श्रेष्ठ दाइले भन्नुभएको रहेछ । यस्तै कुराहरु गर्दैै जादाँ दाईलाई मैले भेटें । अनि दाइले भन्नुभयो, अहिले सानो रोलहरु दिन्छु तिमी कतिको बोल्न सक्छौ, त्यही हेरेर पछि दिन्छु भनेर बोलाउनुभयो । त्यसपछि टिकटकको रोल दिन्छु भन्नेभाको थियो, बोल्न आउँछ कि आउँदैन भनेर । हुन्छ नै भनेर गएँ । सुरुमा टिकटकको रोल छ मेरो अहिले कान्छी बुढी, सौता रोलमा लेलिरहेकी छु । त्यसपछि मैले ‘लै बरी लै’ मा काम गर्ने मौका पाए । त्यहाँ पनि राम्रै मानेर उहाँले छुटाउनु भएको छैन ।
त्यसोभए अहिले व्यस्त हुनुहुन्छ ?
खासै त्यस्तो औधि व्यस्त त छैन । हप्ताको तीन चार दिन सुटिङको लागि छुट्ट्याउनुपर्छ त्यहिं हो ।
तयारी पनि गर्न पर्ला सुटिङको लागि ?
कथावस्तुले मागे अनुसारको अभिनय गर्नुपर्छ त्यस्तो अभ्यास गर्नुपर्दैन । टेलिसियिलयमा गायनमा जस्तो गाह्रो नहुँदो रहे छ । कथावस्तुले मागअनुसार भित्रैदेखि लिफिङ चाहीं हुनुपर्छ । अलिकति भित्रदेखि नै कथावस्तुमा चुर्लुम्म डुब्न सक्नुपर्छ । धेरै लामो रोल पाएको छैन । मेरो अलि लामो रोल भनेको ‘प्राप्ती’ र ‘गौथली’मा छ । त्यसको लागि चाहिं मैले मेहनत नै गर्नुपर्छ ।
दोहोरी साँझमा कति समय काम गर्नुभयो ?
दोहोरी साँझमा त म अहिले पनि गरिरहेकी छु । त्यो त मेरो संगीत स्कुल नै हो भन्दा पनि हुन्छ ।
दोहोरी साँझ जानुहुन्छ ?
हरेक दिन जान्छु । मैले स्मृति गौतम दिजुको ‘सैलुङ रोधी घर’मा नियमित दोहोरी गाइरहेकी छु । यो जडीबुटीमा छ ।
लकडाउनले सुकेको दोहोरी साँझ कतिको गम्केको छ ?
सैजुङ रोधी घर मंसिरको २६ गतेबाट खुलेको हो । अहिले माहोल राम्रै छ । पहिलाको जस्तै भएर पलाउन थालिसकेको छ ।
सुरुभए देखि स्मृेति गौतमसँग गाइरहनु भएको छ ?
सैलुङ रोधी घर सुरु भएको बैशाख देखि हो । म कात्तिकबाट गाउन थालेकी हुँ ।
त्यसोभए तपाईंलाई यो क्षेत्रमा ल्याउन स्मृतिको ठूलो हात छ ?
दिदीले सक्ने ठाउँमा मलाई सक्दो सहयोग गर्नुभएको छ । मलाई दिदी आफ्नै आमा जस्तो लाग्छ । यसले गर्न सक्छ भनेर आफूलाई आएको कुरा मलाई दिनुहुन्छ । जस्तो कतै मोडलिङको अफर आयो भने मैले भन्दा पनि मेरो बहिनी छ भन्नुहुन्छ । दिदीले गर्दा मैले कुराहरु सिक्न पाएकी छु । मलाई हिजो दुई जनाले चिन्नुहुन्थ्यो भने आज चार जनाले चिन्ने मौका पाएको छु । दिदीबाट मलाई धेरै सहयोग भएको छ ।
गायन र अभिनय कुन सजिलो ?
गाह्रो त सबै गाह्रो नै हुन्छ । मलाई चाहीं गायनभन्दा टेलिसिरियल सजिलो लाग्यो । किनभने हामी दोहोरी गाउने मान्छेले छिनेछिनमै जवाफ फर्काउनुपर्छ । ५० सेकेन्डभित्र सोचेर गीत बनाइसक्नुपर्छ । टेलिसिरियलमा स्क्रीप्ट अगाडि नै हुन्छ । त्यसलाई हेरेर हामीले अनुभवमा गर्नुपर्छ । जस्तो रिसमा छ भने त्यही अनुसारको गर्नुपर्यो । हँसाउने खालको छ भने त्यही अनुसार, गाउने कामभन्दा अभिनय एकदम सजिलो लाग्छ मलाई ।
बिहे नभाको केटी अर्काको श्रीमतीको रोल खेल्न अप्ठारो लागेन ?
काम गरिसकेपछि त्यस्तो हुँदैन । त्यहाँ गइसकेपछि छुट्टै अनुभव हुँदो रहेछ । यो काम हो मैले यो काम गर्नुपर्छ । आफै मनदेखि नै अनुभव आउँछ ।
सौतेनी रोलमा खेल्दा कस्तो अनुभव भयो ?
त्यो ठाउँमा बसेर हेर्दा त एकदमै नरमाइलो लाग्छ । मैले अर्काको अधिकार खोसेकी छु जस्तो लाग्छ । तर, यो सिरियलमा कान्छी सौता भए पनि पछि हामी मिलेर बसेका छौ । गाउँलेले उचाल्दा झगडा पर्ने हुन्छ ।
तपाईंले गरेकामध्ये राम्रो लागेको टेलिसिरियल कुन लाग्छ ?
मैले हेर्दा जुनमा पनि कमीकमजोरी पाउँछु । किनभने योभन्दा अझै राम्रो गर्यो भने राम्रो हुन्छ जस्तो लाग्छ । गौथलीमा मैल खुुलेर खेलेको थिएँ । विद्या कार्की दिदीसँग काम गर्ने मौका पाएँ । त्यममा छोरीको रोलमा खेलेकी थिए । त्यसमा खेल्दा धेरै खुसी लागेको थियो ।
गायन र अभिनय दुवैतिर लाग्नुहुन्छ ?
मैले सकुन्जेलसम्म दुवैलाई एकै साथ लिएर जान्छ । गायन र अभिनय दुवै म मलाई उत्तिनै प्यारो लाग्छ ।
मोडलिङ क्षेत्रतिर लाग्नुभयो मान्छेले कतिको जिस्काउँछन् ?
मोडलिङ क्षेत्रमा नगए पनि तरुनी केटीहरुलाई केटाले जिस्काउँनु स्वभाविक नै हो । पहिलाभन्दा अहिलेका केटा साथीहरुले एकदमै बुझ्नुहुन्छ । पहिलोको जस्तो केटी देख्नेबित्तिकै जिस्क्याउन गर्नुहुन्न । अहिलेका केटा साथीहरु धेरै सभ्य छन् ।
परिवारबाट कत्तिको साथ सहयोग पाउनुभएको छ ?
मेरो घरपरिवारबाट एकदमै साथ सहयोग पाएकी छु । मलाई हरेक कुरामा घरपरिवारबट साथ सर्पाेट भएर नै आज यहाँसम्म आएको हुँ । अहिलेसम्म जे–जति सफलता हासिल गरेकी छु त्यसमा पारिवारिक सहयोग ठूला छ ।
मोडलिङमा कस्तो कथावस्तु भए राम्रोसँग गर्नुहुन्छ ?
मैले अहिलेसम्म दोहोरी गीत गीतमा खेलेकी छु । म्युजिक भिडियोमा पनि खेलिसके । मलाई नाच्न त्यति राम्रो आउँदैन । तर, अभिनयमा कमजोर छैन ।
अभिनय राम्रो गर्नुहुन्छ ?
अलि अलि गर्न सक्छु कि जस्तो लाग्छ । पुरै न्याय दिन सक्दिनहोला वहाँहरुले खोजेको जस्तो नहोला, तर गर्नसक्छु भने आँट छ ।
बिहे गर्नुभयो ?
अहिलेसम्म बिहेको बारेमा सोचेकी छैन ।
गर्ने उमेर भैसक्यो सोच्नुभएको छैन ?
जन्मेपछि बिहे नै गर्नुपर्छ भन्ने छैन । गरिहालिए छ भने पनि पहिलो आफ्नो खुट्टामा उभिइसकेपछि बिस्तारै गर्ने हो ।
तत्काल बिहे नगर्ने ?
माघ लागिसक्यो मान्छे पनि छैन, लगन पनि छैन ।
अहिलेसम्म बिहे गर्न ,केटा हेर्नुभाको छैन ?
छैन । मेरो सोचमा बिहेको कुरा आउँदैआउँदैन ।
काम र पेसालाई केन्द्रमा राखेर अगाडि बढ्नुहुन्छ ?
पहिला म मेरो बाबा ममीको इच्छा र चाहनालाई सोच्छु । एउटा गाउँमा जन्मेको हिसाबले मैले छोरीको खुसी छरछिमकमा कसरी सुनाउने भन्ने खुसी कसरी दिने भने हो । त्यसमा मात्र ध्यान छ । यसलाई निरन्तर दिइसकेपछि मात्रै बिहेको बारेमा सोच्ने हो ।
सफलताको पाटो धन सम्पत्ति कि सीप ?
मलाई त सीप र क्षमता लाग्छ । मानिसमा सीप क्षमता छ धन अवश्य कमाउँछ । आज नहोला भोली नहोला एक न एक दिन त्यो कमाउन सफल भइन्छ ।
पैसालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ भन्ने लाग्दैन् ?
मलाई त्यस्तो लाग्दैन । पैसालाई केन्द्रमा राखेर भ्रष्टाचार गर्ने, ठगी गर्ने, अनियमितता गर्ने सब अल्छीले गर्ने काम हो । मानिसमा सीप, क्षेमता र जाँगर छ पैसाको थैलो बोकेर हिड्नुपर्दै जहाँ गएर पनि खान पाउँछ । त्यसैले म पैसा होइन सीप जाँगरलाई ठूलो ठान्दछु । आफ्नो कामलाई माया गर्न सिक्नपर्छ । माया गर्न सिकेपछि पैसा आफै आउँछ । काम गर्नुपर्यो पैसा आउनलाई ।
भविष्यको पेशा अभिनय हो ?
हो, सकेसम्म मैले त बिहे नगर्ने पनि सोच बनाएकी छु । फेरि म अलि छुच्ची स्वभावकी छु । त्यसैले बिहे नगरौं जस्तो लाग्छ । बुढी हुँदै गएपछि स्वरले अलि साथ दिन छोड्छ । तर बुढीहरुको रोल त पाइन्छ । त्यसैले पनि टेलिसिरियलतिर लागेकी हुँ ।
कडा स्वभावको हुनुुहुन्छ ?
म आफैलाई म कडा नै लाग्छ । अलि छुच्ची नै छु । माया गर्न आउँदैन । मलाई पुलकित भएर बोल्न मन लाग्दैन । म कसैसँग पनि बोल्न डराउँदिन ।