मंगलवार, पौष २८ २०७७
काठमाडौँ
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात एक करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
कुमारी बैंकको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी १४ अर्ब नजिक
कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले सञ्चालक समितिकाे प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो ।
साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को लागि १०.८५ प्रतिशत बोनस सेयर तथा ३.१५ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस सेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको २०औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अनलाइन प्लाट्फोर्म जूम मार्फत सेयरधनीको धारणा समावेश गरेको थियो ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १२४ अर्ब २२ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ११५ अर्ब १३ करोड रुपैयाँ प्रवाह गरी संचालन मुनाफा २ अर्ब १४ करोड रुपैयाँ तथा १ अर्ब १५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १२२ अर्ब २९ करोड रुपैयाँ तथा कुल कर्जा रकम ११५ अर्ब १९ करोड रुपैयाँ गरि ८६ करोड रुपैयाँको संचालन मुनाफा र ६० करोड २५ लाख रुपैयाँको खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटीएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।