बुधवार, पौष २९ २०७७
काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् । काठमाडौं पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीले खकार, रगत र डीएनए परीक्षण गरेर मात्रै सदस्यतँ दिने , जिम्मेवारी प्रदान गर्ने हरेक कमिटीमा आफूनिकट मानिसहरू, आफ्ना ब्रान्ड भर्ती गर्ने गरेको र आफ्ना हनुमान बनाएको आरोप लगाए ।
अध्यक्ष नेपालले भने, “ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पुर्याउनुभएको छ । सुन्दैछु २५०० पुर्याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पुर्याउने होला । उहाँको सडकछाप पार्टीमा को-को छन् हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ । त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ ।”
उनले केपी ओली एक्लिएको पनि जिकिर गरे । “तानाशाहीहरू निरीह हुन्छन् । हेर्नुहोला उहालाई एकदिन निरीह भएको पाउनुहुनेछ,” उनले टिप्पणी गर्दै भने, “ओली गुट गलत बाटोमा छ । ओली गुटले फैलाएको भ्रम चिर्नुपर्छ ।”
उनले ओली झुटको पुलिन्दा पस्कन माहिर भएको पनि बताए । उनले ओलीलाई खेलाडीको दर्जा पनि दिए ।
उनले अहिले नेकपाको कार्यभार प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको सशक्त विरोध गर्नु नै रहेको र त्यसलाई सच्याउनु रहेको बताए ।
उनले ओलीविरुद्ध नागरिक समुदाय, प्रबुद्ध व्यक्तिहरू सडकमा आइसकेको बताए । अहिलेको लडाइँ संविधानको हत्या गर्न खोज्ने र जोगाउनेहरूबीचको लडाइँ भएको बताए । उनले ओली निरीह भइसकेकोसमेत टिप्पणी गरे ।