Logo

राजनीति

केपी ओली भ्रष्टाचारीका नायक : प्रचण्ड



नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री भ्रष्टाचारीहरुको संरक्षक (नायक) भएको आरोप लगाएका छन् ।

प्रचण्डले मुखले भ्रष्टाचरीको मुख हेर्दिन भन्ने ओलीले भ्रष्टाचारी जोगाउन अख्तियारमा मुद्दा चलिरहेका व्यक्रिलाई समेत सफाई दिने गरेको भन्दै कटाक्ष गरे ।

‘उहाँ म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने गर्नुहुन्छ, यो भनाइ भ्रष्टाचारी संरक्षणका लागि भन्दै आउनुभएको छ’, राजधानीमा आइतबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने । उनले ओली संविधानको हत्या गरेर हाँस्दै हिंडेको बताए । नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धीमाथि ओलीले प्रतिक्रियावादीहरुसँग मिलेर घात गरेको आरोप लगाए ।

‘नेपाली जनताले ७० वर्षसम्म गरेको संघर्षको जगमा प्राप्त राजनीतिक उपलब्धी र संविधान धरापमा परेको बेला केपी ओली हाँस्दै हिंड्नुभएको छ’, प्रचण्डले भने, ‘हामी यस्तो बेलामा हाँसेर हिंड्न सक्दैनौं ।’ उनले ओलीले कहिल्यै गणतन्त्र नरुचाएको टिप्पणी गरे । गणतन्त्रका लागि भएको आन्दोलनलाई खिसीट्युरीमा उडाउँदै ‘बयलगाढा चढेर अमेरिका पुग्न सकिन्न’ भन्दै हिंडेको स्मरण प्रचण्डले गरे ।

ओलीलाई पार्टीले प्रधानमन्बी बनाए पनि उनले पार्टी निर्णय नमानेको तथा बैठकमा अनुपस्थित भएको बताए । ओलीमा कम्युनिष्ट विचार, सिद्धान्त र व्यवहार नभएकाले उनी बुर्जुवा भएको टिप्पणी प्रचण्डले गरे ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट बाक्लियो

 प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनमा ओली गुटको सहयोगी भूमिकामा उत्रिएको भन्दै राष्ट्रपतिको आलोचना गरिरहेका बेला ओली–भण्डारी भेट भएको हो ।

आइतबार बिहान शितलनिवासमा भएको भेटमा के कुराकानी भयो भन्नेबारे राष्ट्रपति र प्रधानमन्त्री दुवैको सचिवालयले केही बताएको छैन । पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्रीबीच अनावश्यक रुपमा भेटघाट बाक्लिएको टिप्पणी हुन थालेको छ ।

प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन

 नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निकट युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिएका छन् । उनले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा आक्रामक बन्न निर्देशन दिएका हुन् ।

‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ,’ प्रचण्डले भने,‘किन किन के चिलाएको हो ? टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ उनले विगतमा गिरिजाप्रसाद कोइरालाले पनि आन्दोलनका क्रममा लाठी खाएको स्मरण गर्दै आफू पनि तयार भएको बताए ।

उनले युवाविद्यार्थीलाई अझै कडा रुपमा प्रस्तुत हुन भने । आन्दोलन साकाहारीले मात्र नपुग्ने बताए । उनले अबको आन्दोलन हिंसात्मक हुनसक्ने संकेत गरे । माघ ९ गते उपत्यकामा नेकपाको प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गर्न लाग्दा प्रचण्डको आक्रामक अभिव्यक्ति आएको छ । 

यसले अबको आन्दोलन हिंसात्मक हुने संकेत समेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारवादी भन्दै विदेशीको अगाडि लम्पसार परेको आरोप लगाए । उनले भने,‘उहाँ लम्पसारवादी हुनुहुन्छ ।’

प्रकाशित मिति : माघ ४, २०७७ आईतबार  ७ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।