Logo

सुदूरपश्चिम प्रदेश

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण



कन्चनपुर, भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना तथा सञ्चालन विधेयक, २०७७ पारित गरिएको हो ।

भीमदत्तले महाकाली अस्पतालसित साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो । त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अनुमति दिइसकेको छ । आठौँ नगरसभामा पुस २८ गते विधेयक पेश गरिएको थियो । शुक्रबार विधेयकमाथि दफावार छलफल भएर पारित गरिएको नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले बताए । “अब महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि चाहिने कानून नै बनेको छ, त्यसका आधारमा शिक्षालय स्थापना र सञ्चालन प्रक्रिया अघि बढ्छ”, उनले भने । 

नगरसभाबाट शिक्षालय सञ्चालनसहित अन्य विधेयक पनि पारित भएका छन । भीमदत्त नगरपालिकाको सुशासन समिति गठन तथा सञ्चालन विधेयक–२०७७, लेखा समिति गठन तथा सञ्चालन नियमावली–२०७७, वन ऐन–२०७७ र विधायन समिति गठन तथा सञ्चालन विधेयक–२०७७ पारित गरिएको छ ।

यसैगरी नगरसभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६ पहिलो संशोधन गरिएको छ । नगर प्रवक्ता चन्दले नगरसभामा पेश गरिएका विषयगत समितिका प्रतिवेदन पनि पारित गरिएको बताए । भीमदत्तको पुससम्मको प्रगति प्रतिवेदनसमेत पारित पारित गरिएको छ ।

प्रकाशित मिति : माघ ११, २०७७ आईतबार  ११ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।