Logo

विचार / ब्लग

राजा–प्रजाले ल्याएको लोकतन्त्र



भारतमा शरणार्थी भएर जाँदा मसंग रुपैयाँहरु केही थिएन । यसरी शरणार्थी भएर गइसकेपछि हत्तपति फर्केर आउने कुरा थिएन । तर मसंग भारतमा बस्ने धनसम्पत्ति थिएन । यस्तो हालतमा के गर्ने बडो गम्भीर समस्या थियो । मैले छोराहरुसंग सल्लाह गरेर हामीसंग भएका केही जवाहरतहरु बोकेको थिएँ । जवाहरतहरु पनि अलिकति ०९७ सालको खानतलासीमा नरशम्शेरले लगेको थियो । तर नरशमशेरको छोरी प्रिन्सेस र हेलेन शाहले विवाहमा केही दाइजो ल्याएका थिए । हिमालय र बसुन्धराले त्यो पनि लिए । अब हामीसंग भारतमा बसोबास गर्न सक्ने किसिमको सम्पत्ति भयो । तर ईश्वरको अनुग्रह र नेपालीहरुको असिम स्नेहले भारतीय नेताहरुको सद्भावनाले यस्तो भएन । म सफल भएर मेरा प्यारा नेपालीहरुलाई सौगात स्वरुपको प्रजातान्त्रिक अधिकार बोकेर फर्किएँ । यो सफलतालाई मैले मेरो जीवनको महत्ववपूर्ण उपलब्धीको रुपमा लिएँ ।

उपलब्धीको साथसाथै अनेकौं विकृति पनि आएछ । डेमोक्रेसी भनेपछि सबै स्वतन्त्र जसलाई जे गर्न पनि स्वतन्त्र, फलस्वरुप राणाहरुमा र र जनताका छोरा नेताहरुको को ठूलो भन्ने होडबाजी चल्यो । राणाहरु भन्थे– हामी जन्मजात ठूला , साराले मानी आएका । यता नेताहरु भन्ने हामीले विद्रोह गरी क्रान्ति गरी यो स्थितिसम्म पुर्याएका । जनताका मानिस , त्यसकारण हामी ठूला । यस्तै खिचातानी हुन लाग्यो । बस्ने ठाउँमा खिचातानी, खाने कुरामा खिचातानी, बोल्न उठ्न बस्न सबै खिचातानी हुन लाग्यो । क्रान्तिमा अनुहार लुकाएर बस्नेहरु पनि ठूलो क्रान्तिकारी भएर आउन लागे । दिल्लीबाट फर्किएपछि सम्झौता बमोजिम ५ जना मोहनशम्शेरतर्फको र ५ जना नेपाली कांग्रेसको तर्फका मानिसहरु मन्त्री भए । तर सपपथग्रहणको सिलसिलामा दोस्रो दर्जाका लागि बीपी र राणा समूहरुमा धेरै छलफल भयो । अन्त्यमा बीपीसंग विशेष अनुरोध गरेर दोस्रो समूहमा बसे र बबरशशमशेरले बीपीलाई विस्तारै भनेछ– आज मात्रै म मेरो इज्जतको लागि दोस्रो स्थानमा बसेको छु । तर भोलिदेखि म आउँदिन, भारत प्रवेश गर्छु ।

त्यो सपथग्रहण भएको दिनको घटना हो । पछि बीपीले मलाई भने । नभन्दै बबरशमशेर भोलिपल्टदेखि आएनछन् । दिउँसोतिर निस्केर सपरिवार भारत गएछ । जेल बसेका नेताहरु हामीले गरेर प्रजातन्त्र ल्याएको भन्थे । भारतमा बसेर आन्दोलनमा भाग लिनेहरु पनि त्यसै भन्थे । जिल्ला जिल्ला प्रान्त प्रान्तमा बसेर मोर्चामा लडाइँ गर्ने पनि त्यसै भन्थे । यी सबैको बीचमा समन्वय ल्याउन गारो परेको थियो । एकपटकको कुरा हा, म एउटा कौचमा बसेर के हो गर्दै थिएँ । त्यस्स्तैमा बीपी आइपुगे । मैलै बीपीलाई आउनोस भनेर बोलाएँ र आफूसंगैको काउचमा बसाएँ । बीपी त कुनै सोच नमानी बसे ।
एकछिनपछि कोही राणा परिवारको जनरल आयो र मलाई सलाम गर्यो । मैले उसलाई आएर बस्ने भने । उसले जीब्रो काडेर गलैचामा बस्यो । उसलाई बीपी त्यसरी मेरो काउचमा बसेकोमा आश्चर्य लागेछ र जीब्रो काडेको रहेछ । पछि उसले भन्यो । मैले थाहा पाएँ यसलाई आपसी समझदारी भन्ने कि के भन्ने ।

मोहनशमशेर प्रधानमन्त्री भएपछि पनि उनको सैनिक दस्ता छँदै थियो । उनी आउँदा जाँदा पनि २,४ जना सैनिक लिएर निस्कन्थे । यस्तो कुरा बीपीलाई ठीक लागेन, मलाई पनि ठीक लागेन । पछि मोहनशमशेरले राजीनामा गर्नु केही अघि त्यो बिजुली गारत सैनिक समूह नारायणहिटी दरबार ल्याइयो । पद पाउने होडबाजी पनि हुन लाग्यो । मैले मानिसहरुको महत्वाकांक्षा बढेको अनुभव गर्दै गएँ । मुक्तिसेनाका मानिसहरु जस्ले काँधमा बन्दुक बोकेर राणाहरुको सेना जसलाई राष्ट्रिय सेना भनिन्थ्यो, तिनीहरुसंग ज्यान मायामारी लडाईंमा सरिक भए, अहिले प्रजातन्त्र आएपछि तिनीहरुको राम्रो व्यवस्था हुन नसकेर तिनीहरुलाई गाउँगाउँमा शरणार्थीजस्तो भएर घुम्न परेछ । भीमढुंगाको रिमालको घरमा २ दिनसम्म बसेर मकै भुटेर खाएको मलाई थाहा भयो । रिमालका परिवारले ती सैनिकहरुको राम्रो सत्कार गरेछन् । यस्तो घटना ठाउँ ठाउँमा निश्चय पनि भएको होला । मैले पहिले मलाई साथ दिनेहरुलाई खोजी खोजी उनीहरुको सुख सुविधाको विचार राखें । मैले उनीहरुलार्य खोजी खोजी बोलाएर ल्याएर यथासम्भव सहयोग गरें ।

दिल्लीमा भएको सम्झौताको नेपालमा अब विरोध शुरु हुन थाल्यो । त्यसबेला मलाई यसो गर्नुपर्यो भन्ने कोही आएन । मैले सम्झौतापत्र तयार पारेर दस्तखत गरेर आएपछि अनेकौं कुरा आउन थाल्यो । दिल्लीमा विजयशम्शेर बीपीको भेट भएर सल्लाह हुन सकेन । पछि मलाई बीपीले भने, विजयशमशेरसंग भेटेर कुरा गर्न खोज्दा मातृकाले गाली गरेर बीपीलाई त्यसकारण उनीहरुको पनि सल्लाह हुन सकेन । भारतले यो सम्झौता गराउन प्रमुख भूमिका निभाउने मौका पायो । भारतीय भूमिमा प्रजातन्त्रको ५ बुँदे संझौतामा दस्तखत भएकाले निश्चय पनि भारतले यहाँ पनि सानुसानु कुरामा राय सल्लाह दिन थाल्यो । जुनकुरा मलाई र अरु कत्तिलाई पनि मन परको थिएन । । कतिले मलाई मेरो शुभचिन्क भई विधान परिषदको हक अधिकार दिँदा विधान परिषदले राजतन्त्र नमानेमा के गर्ने भन्ने समेत प्रश्न तेस्र्याए । त्यस्ता शंका उठाउनेलाई मैले जवाफ दिएँ ।

विश्वेश्वरप्रसाद कोइरालाको बस्ने घर नभएकाले मैले उनलाई नारायणहिटी दरबारको एक भागमा पाहुनाको रुपमा बस्न दिएँ । प्रत्येक दिनजसो उनको र मेरो भेट हुन्थ्यो । सरसल्लाह गरिन्थ्यो । कहिलेकाहीँ ब्रीज पनि खेलिन्थ्यो । राणाहरुले बीपीलाई आफ्नु मानिस बनाउन आफ्नु घरमा बोलाउँथे । राणाहरुको दरबारमा भएका नानीहरुसंग खेल्न बस्न रमाइलो गर्न छुट दिन्थे । बीपी पनि भर्खरको युवक यस्ता कुरामा बढी चाख राख्थे । बीपीलाई रिझाउन पाएमा भोलि कुनै पदमा बस्न पाइने आश पनि थियो क्यार । त्यसैकारण उनीहरु बीपीप्रति झुकेका थिए । कांग्रेसका अरु पनि वरिष्ठ नेताहरु थिए । गणेशमान, मातृका, सूर्यप्रसाद, सुवर्णशमशेर यस्तै अन्य कति कति । तर मैले बीपीलाई नै दरबारमा राखें । बीपी पहिले त्रिपुरेश्वर गेष्टहाउसमा बस्थ्यो । उसको काठमाडौंमा घर थिएन । त्यसकारण गृहमन्त्रीलाई गेष्टहाउसमा राखियो ।

उसलाई त्यहाँ ठिकै थियो र निजी सचिवालय पनि थियो । बीपी र गणेशमानको असाध्य ठूलो मित्रता भएको जस्तो लागेको थियो । धेरै समय गणेशमान बीपीसंगै हुन्थे । काठमाडौंमा त्यसबेला गोरखा दल गठन भएको थियो । यसको संचालन भरतशमशेरले गरेका थिए । असनमा केही आठपरियाहरुले खुकुरी लिएर काठमाडौंबासीहरुलाई आतंकित पारेदेखि नै यो दललाई काठमाडौंबासीहरुले ‘खुकुरी दल’ नामाकरण गरेको कुरा पनि बताए ।

यही खुकुरी दलको जमातले एकदिन बीपी बसेको गेष्टहाउस घेरेछ । त्यसबेला उसलाई थाहा भएनछ । तिनीहरु माथि बसेको कोठाको ढोका खोल्न आएपछि मात्र उसलाई शंका परेछ । त्यसबेला गणेशमान पनि बीपीकै कोठामा रहेछ । बीपीले तिनीहरुलाई ढोका खोलेर झपारेछ । बीपीको झपार खाएपछि अलिकति मानिस फर्किएछन् । तर एउटा आठपरियाले ७,८ जना मानिसलाई नाङ्गो खुकुरी लिन लगाएर खुकुरी झल्काउँदै बीपीलाई हिर्काउन आएछ । त्यसपछि बीपीले आफूसंग भएको पेस्तोलबाट चार गोली चलाएछ ।

बीपीलाई खुकुरी हिर्काउन आएको आठपहरियाको छातीमा गोली लागेर उ मरेछ । कसैको कानमा गोली लागेछ । खूकुरीको बीँडमा ‘बी’ लेखिएकोले यो पक्कै पनि बबरशमशेरको आठपहरिया हो भन्ने अनुमान गरेछन् । त्यसपछि मैले बीपीलाई दरबारमा बोलाएर राखें । उसको सुरक्षाको लागि भोलिपल्ट क्याविनेट बैठक बसाएँ । बैठकको अध्यक्ष म आफैं थिएँ । बैठकमा त्यही आक्रमणको कुरा उठ्यो ।

बहस चल्यो त्यसपछि बीपीले राणा कांग्रेसको संयुक्त बैठक चल्दैन भन्यो । त्यहाँ उपस्थित सबैले हो हो भनेर समर्थन गरे । त्यहीं मेरो सचिव गोविन्दनारायणबाट राजिनामाको मस्यौदा भयो । मोहनशमशेर निन्याउरो मुख लगाएर बसिरहेको थियो । भारतमा थाहा भएर सीपी सिन्हाले फोन गरेर भन्यो– ‘म इस्पेसल प्लेन लिएर आउँदै छु । अहिले ठूलो निर्णय नहोस् ।’

राणा शासको अन्त्य गर्न भारतको ठूलो भूमिका भएकाले मैले सीपी सिन्हाको अनुरोधलाई स्वीकार गरेर क्याविनेटमा पनि त्यसै गर्ने भनेर प्रस्ताव राखें । नाइनुइ गरेपनि मेरो प्रस्ताव समर्थन भयो । त्यसबेला मोहनशम्शेर गइसकेका थिए । प्रधानमन्त्रीलाई सिंहदरबारभित्र छिर्न दिँदा उसले आफ्नो बिजुली गारतको सैनिकहरु लिएर आएर कुनै अप्रिय घटना हुन सक्ने अनुमानले गणेशमानले मोहनशमशेरलाई बाटोबाटै फर्काएर ल्याउनुपर्छ भनेर जोड ग¥यो । नरशमशेरले मैले गएर ल्याउँछु भनेकाले उसलाई मैले नै पठाएँ ।

साँच्चै नै उसले मोहनशमशेरलाई फर्काएर ल्याएछ । भारतीय राजदूत सिन्हा आएपछि सर्वप्रथम मसंग भेट गर्यो । र उसले मोहनशमशेरलाई अपमान नहुने गरी राजीनामा गराउन र सिंहदरबार छाडेर लक्ष्मीनिवासमा सर्नलाई लाग्ने समय दिन भन्यो । मोहनशमशेरले फेरि केही उपद्रो गर्ने हो कि भन्ने शंकामा राजदूतले त्यस्को जिम्मा दिएकाले त्यही अनुसार कार्यक्रम बन्यो । बीपीले बिजुली गारत हटाउनुपर्छ भनेर जोड गरेकोले तुरुन्तै प्रधानमन्त्रीको निजी गार्डको रुपमा रहेको निजी सैनिक मैले राजदरबारमा सरुवा गराएँ । यस कुरामा बीपीले एकदुई पटक प्रधानमन्त्रीको सैनिक प्रधानमन्त्रीकै मातहत हुनुपर्छ भनेर भनेर जोड गरेको हो । तर प्रधानमन्त्री हुनेहरुले त्यस्तो महशूस गरेनन । मैले पनि यो कुरालाई त्यसै छोडिदिएँ ।

विश्वेश्वरप्रसाद कोइराला जिल्ला जिल्लाको भ्रमणमा गए । उनले जिल्लाहरुमा अन्यौल परिस्थिति भएर रहेको राज्य व्यवस्थालाई सुदृढ बनाए छन् । मोहनशमशेरको अवस्था पहिलाको जस्तो थिएन । मोहनशमशेर सिंहदरबार छोडेर लक्ष्मीनिवास सरिसकेका थिए । बीपी र मोहनशमशेर मिल्दैनथे । म चाहान्थें तीतामीठा कुराहरुलाई छाडेर राष्ट्रनिर्माणको लागि एक भई अगाडि बढूँ । तर त्यसो भइरहेको थिएन । बीपी आफ्नै सुरमा थियो भने मोहनशमशेर आफ्नै ताकमा । मैले यिनीहरुलाई मिलाउन जवाहरलाल नेहरुलाई अनुरोध गरें । नेहरुले दुवैलाई एउटा निहुँमा भारत बोलाएर मिलेर देश बनाउने काम गर्नुस भनेर पठाइदिए छन् । नेहरुको कुरा कति सकारात्मक रुपमा लिए, त्यो उनीहरु जानुन । बीपीले पनि आफूलाई कुनै राजा महाराजाभन्दा कम ठानेका थिएनन ।

एकपटकको कुरा हो, म छोराहरुको साथमा फूटबल म्याच हेरिरहेको थिएँ । बीपी अगाडि आएर उभिए । क्याच मस्तसंग चलिरहेको थियो । त्यहाँ बस्ने ठाउँ पनि थिएन । बीपी हाम्रो नजिकै उभिइरहे । देशका गृहमन्त्री त्यसरी उभिएको देखेर मैले नजिक बोलाएर भने– यता बसुँ न । बीपीले भने– ‘अलि अटाइँदैन सरकार म ठीकै छु ।’ मलाई अप्ठ्यारै पनि लाग्यो र बीपीको मन जाँच्न मन लागेर भने– ‘आउनोस आउनोस मिलेर बसौं ।’ बीपी आएर हामी बाबुछोराको माझमा बसेर उपरखुट्टी लगाए । त्यसो गर्दा उनको गोडा मतिर फर्कियो । मैले त यस्तो कुरातिर ध्यान दिइन । त्यतिकै भयो । तर पछि यही कुरालाई लिएर मानिसहरुले मेरो र बीपीको बीचमा फाटो पार्न अनेकौं कुरा काटन थाले ।

जेठ २७ गते मन्त्रिमण्डल पुनर्गठन भयो । आषाढ २ गते नेहरु नेपाल आए । नेहरु नेपाल आएकोमा पनि विरोध भयो । कालोझण्डा देखाएर आफ्नो तर्क पेश गरे । यस्ता कुरा हुँदाहुँदै युवराज महेन्द्रको र मेरा बीचमा मतभेद छ भन्ने कुराको हल्ला चल्यो । वास्तवमा हामी बाउछोरामा राजनीतिक नभएर पारिवारिक मतभेद थियो । मेरो जेठी बुहारी हरिशमशेरकी छोरी इन्द्रराज्यलक्ष्मीको स्वर्गारोहणपछिको कुरा हो यो ।

२००८ साल कात्तिक २२ गतेका दिन बौद्धमा बौद्ध अस्तिधातुको स्वागतमा मैले भाषण दिनुप¥यो । बुद्धको अष्टधातुको विषयमा सबै बुद्धिष्टहरुलाई जम्मा गराई मैले केही भन्न पाएकोमा मलाई अत्यन्त हर्ष लाग्यो । त्यसदिन बेलुका बीपीले मलाई भेटेर भने– ‘जबसम्म मोहनशमशेर प्रधानमन्त्री भइरहन्छ , त्यसबेलासम्म हामीले केही गर्न सक्दैनौ । राजा र प्रजा मिलेर आएको प्रजातन्त्रको कुनै अर्थ रहेन । बोतल एउटै पदार्थको मात्र फरकले के गर्ने ? त्यसकारण म राजिनामा गर्ने भएँ ।’ भनेर भोलिपल्टै राजिनामा पनि दिइहाले ।

विराटनगरमा मेरो भव्य स्वागत भयो । मातृका र भूपालमानसिंहले राम्रो व्यवस्था गरेका रहेछन् । करिब डेढ लाख मानिसको त्यसबेलाको उपस्थितिले म आश्चर्यचकित भएँ । यति विशाल जनसभासंग प्रत्यक्ष भेट गर्न पाउँदा मलाई अपार हर्ष भयो । त्यो भ्रमणमा धेरैको अभिनन्दनपत्र लिन पाउँदा आफूलाई झन ठूलो भाग्यशाली सम्झिएँ । त्यसपछि जनकपुर, जयनगर, वीरगंज र जलेश्वरको भ्रमणमा गएर त्यहाँका पनि विभिन्न कार्यक्रमहरुमा सहभागी भै सबै प्रजाहरुसंग भेट गरी काठमाडौं फर्कियौं । यसै समयमा भारतले नेपालको कार्यमा हस्तक्षेप ग¥यो । नेपाली प्रधानमन्त्रीदेखि अरु मन्त्रीसम्म भारतको इसारामा चल्छन भन्ने कुराको विरोध भएछ ।

त्यसको जवाफमा भारतीय राजदूतले भनेछ– ‘नेपाललाई हामी सधैं स्वतन्त्र देख्न चाहान्छौं । नेपालको स्वतन्त्रता हाम्रो आँखाको नूर हो । नेपाललाई आफ्नो स्वतन्त्रताको रक्षा गर्न अप्ठ्यारो प¥यो भने हामी सदा मद्दतका लागि तयार रहने छौं ।’ वास्तवमा त्यसबेला नेपालमा केही होस र नेपालको उन्नतिमा केही गर्न सकियोस भन्ने चाहना भारतको थियो । हाम्रो पनि सुख दुखमा पहिलादेखि नै साथ दिँदै आएको नजिकको मित्रराष्ट्र भारत नै थियो । त्यसैले पनि हामीले हाम्रा विभिन्न क्षेत्रको उन्नतिमा आवश्यक परामर्श र सकेको सहायता भारतले गरोस भन्ने इच्छा राख्यौं ।

यही भावनाको प्रतिनिधित्व गर्दै भारतले नेपालका सैनिकहरुको अवस्था सुधार गर्न हामीलाई १५७ जना सैनिक दस्ता केही समयको लागि पठाइ दियो । यो दस्ता माग गर्ने सम्बन्धमा रक्षामन्त्रीले मसंग परामर्श लिएको थियो । यसरी सैनिक समूह नेपालमा आएकोले भारत र नेपालमा अनेक प्रतिक्रियाहरु भए । वादविवाद र छलफल भयो । भारतीय पत्रपत्रिका र नेपालका पत्रपत्रिकाले पनि एक एक कुराहरु लेखे । वास्तवमा यो सैनिकदस्ता नेपालमा सैनिकहरुलाई तालिमको व्यवस्था मिलाउन आएको थियो । यस्तै यस्तै परिस्थितिमा एक वर्ष वित्यो । (राजा त्रिभुवनको जीवन कथामा आधारित ‘हामीले प्रजातन्त्र कसरी ल्यायौं’ पुस्तकबाट साभार)

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  १२ : ४८ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।