Logo

स्वास्थ्य

लक्ष्यभन्दा १०९ प्रतिशत बढीलाई कोभिड खोप



तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबारसम्म एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् । कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले एक हजार ६४ महिला र ७६६ पुरुषले कोभिड खोप लगाएको जानकारी दिए  । उनका अनुसार खोप अभियानको ११औँ र अन्तिम दिन शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको छ । जिल्लामा एक हजार ६७९ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो ।

यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ । “खोप लगाएकालाई सामान्यबाहेक अन्य जटिल लक्षण देखिएको छैन”, अधिकारीले भने । उनका अनुसार खोप लगाएकालाई पुनः चार हप्तापछि अर्को खोप दिइनेछ । 

कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ । 

गण्डकीमा १८ हजार ४७२ लाई खोप

गण्डकी प्रदेशमा १८ हजार ४७२ लाई खोप लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १७ हजार १९५ लाई खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको छ । 

स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार कास्कीमा सात हजार १३३, गोरखामा एक हजार ५५९, नवलपुरमा ९६०, पर्वतमा एक हजार ३०, बागलुङमा एक हजार ७२९, मनाङमा १६१, मुस्ताङमा २२६, म्याग्दीमा ८९४, लमजुङमा एक हजार ४५० र स्याङ्जामा एक हजार ४९६ लाई खोप लगाइएको छ । 

प्रकाशित मिति : माघ २५, २०७७ आईतबार  ८ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।