सोमवार, माघ २६ २०७७
काठमाडौँ
नारायण क्षेत्री।
स्याङ्गजाका होमस्टे पुनः सञ्चालनमा आउने भएका छन् । कोरोना महामारीका कारण बन्द भएका होमस्टे यही माघ २७ गते मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका हुन् । होमस्टे एसोसिएसन स्याङ्गजाले आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
सरकारले तोकेको सुरक्षा मपदण्ड अपनाएर आफुहरुले होमस्टे सञ्चालन गर्न लागिएको सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङ्गले बताए । पत्रकार सम्मेलनबा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काँशीराज भण्डारीले शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न सकेमात्र ग्रामिण अर्थतन्त्र चलायमान हुने बताए । उनले बोर्डको तर्फबाट होमस्टेका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
आन्तरिक पर्यटन पुनरुत्थान समितिका गण्डकी प्रदेश संयोजक अग्नि कँडेलले कोरोना महामारीले आन्तरिक पर्यटनको महत्व झनै बढाएको बताए । महामारी जुनसुकै बेलापनि आउन सक्ने भएकाले अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक पर्यटकको भुमिका महत्वपूर्ण हुने उनको भनाई छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्राईले होमस्टेले स्थानीय खानपान र जिवनशैलीलाई महत्व दिनुपर्ने बताए ।
स्याङ्गजामा एसियाकै पहिलो होमस्टे सिरुबारी होमस्टे सहित ४९ वटा होमस्टे रहेका छन् । ८ सय घरधुरी रहेको होमस्टेमा १ रातमा २ हजार पर्यटक अटने क्षमता रहेको होटल एसोसिएसन नेपाल स्याङ्गजाका अध्यक्ष मोहन खनालले बताए ।
पुनरुत्थानको अभियानलाई सार्थक बनाउन एसोसिएसनले गाँउपालिका परिचयात्मक भ्रमण, क्यानोनिङ्ग महोत्सव र कोभिडले होमस्टेमा पारेको प्रभावबारे पनि अन्र्तक्रिया गरिने संयोजक गुरुङ्गले बताए ।