Logo

ईन्डियन र चेन्नई सुपर किंग्सबीचको उद्धघाटनसँगै १३ औँ संस्करणको आइपीएल सुरु



कोरोना कहालीकैबीच चर्चित ईन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करण शनिबारबाट यूएईमा सुरु भएको छ । तर, हरेक संस्करणमा क्रिकेटप्रेमीको ध्यान तान्न सफल आइपीएलले यसपटक भने फरक स्वाद दिएको छ ।

अथार्त महामारीकै बीच सुरु भएको यो सिजनमा कोरोनाले धेरै बदलाव ल्याइदिएको छ । विश्वका अधिंकाश मुलुकलाई अहिले कोरोना भाइरसको महामारीले जकडिरहेको छ । तर, यो महामारीकै कारण हुने नहुने दुविधामा रहेको भारतको चर्चित क्रिकेट लिग आइपीएल अन्ततः यूएईमा सुरु भएको छ ।

साविक विजेता मुम्बई ईन्डियन्स र चेन्नई सुपर किंग्सबीचको उद्धघाटनसँगै १३ औँ संस्करणको आइपीएल सुरु भएको हो । तर, कोरोनाले नै यसपटक आइपीएलमा धैरै बदलाव ल्याईदिएको छ ।

आइपीएल चलिरहँदा रंगशालामा दर्शकको उपस्थिती थाप्नै नसकिने गरी हुन्थ्यो । तर, पहिलो पटक यो प्रतियोगिता बिना दर्शक ‘बायो सेक्योर’ माहोलमा सुरु भएको छ । अर्थात १३औँ संस्करणले रंगशाला नै पुगेर हेर्ने दर्शकको साथ पाएको छैन् ।

के हो बायो सेक्योर माहोल ?

बायो सेक्योर माहोल त्यस्तो अबस्था हो जहाँ बाहिरी दुनियाँ बाट पूर्ण रुपमा अलग गरिन्छ । अर्थात आईपीएलमा संग्लग्न खेलाडी, सपोर्ट स्टाफ, म्याच अफिसियल, होटल स्टाफ र कोरोना टेस्ट गर्ने मेडिकल टिमका सदस्यसम्मलाई बाहिर निस्कन अनुमति हुँदैन ।

कुनै पनि ब्यक्तिलाई बाहिरी व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्ने अधिकार हुँदैन । बायो सेक्योर नियम तोड्नेलाई आईपीएलको प्रतियोगिता नियमावली अनुसार सजाय हुन व्यवस्था छ । खेलाडीलाई केहि खेलमा प्रतिबन्ध लगाउन सक्नेसम्मको नियम छ ।

त्यस्तै आइपीएलको इतिहासमै पहिलोपटक खेलाडीहरुले खाली रंगशालामा खेलेका छन् । रंगशालामा समर्थकमात्र होइन रमाइलोका लागि राख्ने गरिएका चियरलिडर्स पनि छैनन् । तर, फ्रेन्चाइज टिमले टिभी स्क्रिनमा चियरलिडर्स र समर्थकको रेकर्डेट भिडियो प्रशारण गर्ने प्रबन्ध भने मिलाइएको छ ।

त्यस्तै कोरोनाकै कारण पहिलो खेलमा टसपछि दुवै टोलीका कप्तानले हात समेत मिलाएनन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आईसीसीले क्रिकेट बल चम्काउनका लागि थुकको प्रयोगलाई प्रतिबन्ध लगाएको नियम पहिलो पटक आईपीएलमा लागू भयो ।

खेलका दौरान बलरले थुकको प्रयोग गरेमा हरेक टिमलाई दुईपल्ट चेतावनी दिइनेछ । तर, तेस्रो पल्ट पनि प्रयोग गरेमा जरीवानास्वरुप विपक्षी टिमलाई ५ अतिरिक्त रन दिने नियम बनाइएको छ ।

त्यस्तै आयोजक भारतीय क्रिकेट बोर्डले जारी सिजनमा अनलिमिटेड कोरोना सब्स्टिच्युडका लागि अनुमति दिएको छ । अर्थात प्रतियोगिताको बीचमा कुनै खेलाडीलाई कोरोना संक्रमण देखिएमा टोलीले अर्को खेलाडीलाई टिममा समावेश गर्न सक्ने बताइएको छ ।

नियमका अनुसार ब्याट्सम्यानको स्थानमा ब्याट्सम्यान र बलरको स्थानमा बलर नै सब्स्टिच्युड हुन पाउने नियम बनाइएको छ । यसबाहेक थुपै्र बदलाव यसपटकको जारी सिजनमा देख्न सकिन्छ । तर, टेलिभिजनको स्क्रिनमा हरेर रमाउने दर्शकहरुले भने उत्साहपूर्ण रुपमा आइपीएलको मज्जा लिइरहेका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  ११ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।