'शेर' हुन चुकेका शेरबहादुर 

'शेर' हुन चुकेका शेरबहादुर 

  • 2.7K
    SHARES

  • 'शेर' हुन चुकेका शेरबहादुर 

    २०४० साल फागुन २० गते रुपन्देहीको सुरजपुरामा पञ्चायत समर्थकको लाठी, भाला, ढुंगामुढा आक्रमणमा कांग्रेस योद्धा यादवनाथ आलोकले ज्यान गुमाए । त्यही प्रहारबाट कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइराला, त्यो बेलाका उम्दा नेता शेरबहादुर देउवा, शैलजा आचार्य गम्भीर घाइते भए । अहिले देखिने देउवाको ओठ काटिएको खत त्यहीबेलाको निसानी हो ।

    भौतिक आक्रमण मात्र हैन, नेताहरुले आश्रय लिएको घरमै प्रदर्शनकारीले आगो लगाउन खोज्दा आगो नसल्किएपछि कांग्रेसका यी नेताहरु नाफाको जीवन पाउन सफल भएका थिए । त्यो खत देखाएर देउवा र उनका समर्थकलाई भजन गाउन स्थायी अन्तरा त प्राप्त भयो होला, तर ढुंगामुढा, विभेद र असहिष्णु राजनीति सङ्ल्याउन उनको कति योगदान रह्यो ? नाफाको जिन्दगी बाँचेका देउवाले बाँकी जीवन देश र जनताका नाममा कतिको इमान्दारपूर्वक समर्पण गरे ?

    images

    समकालीन राजनीतिमा सर्वाधिक बढी समय मुलुकको कार्यकारी पदमा आसन जमाउने नेताको जश उनै देउवालाई जान्छ । ज्योतिषले सात पटक प्रधानमन्त्री हुने भनी गरेको भविष्यवाणीको पछि लागेका देउवाको हरेक चाल त्यही बाटो पछ्याउन केन्द्रित देखिन्छ । विगत तीनदशकको संसदीय राजनीतिमा कहिल्यै चुनाव नहारेको एउटा अभूतपूर्व इतिहासको दस्तावेज देउवाको नाममा जोडिएर आउँछ ।

    जब मानिसभित्र तर्क सकिन्छ, उसले अम्मल गर्ने भनेको मुख्याईँ हो । देउवा तर्क कम गर्छन । दश मिनेट भाषण गरे भने उपद्रो चर्चा हुन्छ । २,३ घण्टा भाषण छाँट्ने उनका समवयीका अगाडि बोल्ने कलामा सधैं फिका देखिन्छन् । केपी ओली र प्रचण्डजस्तो धेरै बोलेर ठगी गर्नुभन्दा कम बोलेर, बोलेको पनि नबुझाएर केही नगर्नु इमान्दारी हो भन्ने निष्कर्ष निकाल्ने हो भने समयक्रमले देउवालाई फटाहामध्ये सज्जनको पगरी गुथाउन पनि मद्दत गर्ने देखिन्छ । मुन्टो हल्लाएपछि धोका दिँदैनन् ।

    जनयुद्धकालमा माओवादीले कन्चटमा बन्दुक ताक्दा विचार नबदलेका कांग्रेसलाई प्रचण्डपुत्रीलाई भोट हाल्न उर्दी जारी गर्ने देउवाको चरित्रलाई दुई मनोविज्ञानबीच विश्लेषण गर्न सकिन्छ । पहिलो उनी क्षणिक फाइदाका लागि मूल्य, मान्यता, आदर्श तिलाञ्जलि दिन सक्छन । दोस्रो बचन दिएपछि त्यो बचन सार्थक बनाउन आफू माटोमा मिलेको पनि ख्याल गर्दैनन् ।

    कांग्रेसको जीनमै यसखाले समस्या देखिन्छ । राजा महेन्द्र र बीपीको नङमासुको सम्बन्ध कालान्तरमा इतिहासकै कलंक बन्यो । राजा ज्ञानेन्द्रलाई तह लगाउन प्रतिबन्धित माओवादीसंग सहकार्य गरेका गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई मनपेट, मनी, मसल सबै दिए । प्रचण्डले गिरिजाप्रसादको शिरमाथि राष्ट्रपतिको तरबार राखिदिए । अन्तत : तिनै प्रचण्डको महत्वाकांक्षाले गिरिजाप्रसादको सपना तुहाउने काम  गर्यो  । कालान्तरमा देउवाको कार्यकाल दोसाँधमै देखिन्छ ।

    देउवा बीपीले हुर्काएका राजनीतिक बेर्ना हुन् । सुदूरपश्चिमका द्वारिकादेवी ठकुरानीलाई इतिहासकै पहिलो मन्त्री बनाउने र देउवालाई राजनीतिक संरक्षण दिने बीपी नै हुन् । कांग्रेसभित्रको एउटै छिमलका आरएसएस अर्थात रामचन्द्र, शेरबहादुर र शैलजामध्ये यिनले एकछत्र बाजी मारे । बीपीको संरक्षण पाए तर बीपीकै भाइ जीपीसंग उनको हिसावकिताब मिलेन । पार्टी फोर्नेसम्मको काम गरे ।

    त्यो सैद्धान्तिक नभएर सत्ताको महत्वाकांक्षाको परिणाम थियो । ०४८ सालको संसदीय चुनावमा कृष्णप्रसाद भट्टराई पराजित भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा दोस्रो वरियतासहित गृहमन्त्री भए । गृहमन्त्री हुँदै उनको राणा खानदानकी आरजु राणासंग लगनगाँठो कसियो । त्यो विहेको लमी अमेरिकी राजदूत जुलिया चाङ ब्लक हुनुले पनि उनी नेपाली राजनीतिमा कसरी फैलिँदै गए भन्ने पुष्टि गर्छ । 
    आरजुसंगको विवाहपछि नाफामुखी राजनीतिमा मुखरित हुँदै गएको उनलाई नजिकबाट हेर्नेहरुको बुझाइ छ । 

    अनौपचारिक गफगाफमा गिरिजाप्रसादबाट चुरोट पिउन, भट्टराईबाट रक्सी र गणेशमानबाट बोल्न सिकेको बताउने देउवाका काठमाडौं आएदेखि नै जाँड खाने साथी भने रामेछापका शिबबहादुर खडका थिए । सानो फाइदाका लागि ठूलो जोखिम लिने चरित्र उनमा देखिन्छ । संसदीय राजनीतिमा सत्ता र शक्तिका लागि जुनसुकै तहसम्म उत्रिन सक्ने नेताका रुपमा उनी स्थापित हुँदै गए । हुँदा हुँदा नेपालको राजनीतिक इतिहासमै ४९ सदस्यी मन्त्रिमण्डलको मुखिया हुने श्रेय उनैले पाए । सांसद किनवेचका घट्ना प्रशस्तै भए । यो राजनीतिलाई दुरुपयोग गरिएको भद्दा दृश्य थियो ।

    लोकतन्त्र भनिए पनि नेपालको चुनावप्रणाली अत्यन्त खर्चिलो छ । कमाउन र बाँड्न नसक्ने व्यक्ति पार्टीको मुखिया हुने सोच्न पनि सकिदैन । यही सत्य बुझेका देउवाले सत्तालाई नाफामुखी राजनीतिमा अनुवाद गर्दै लगे । 

    सैद्धान्तिक मतभेद बिर्सिएर सरकारी निकायमा आफ्ना मान्छे भर्ने भोक उनमा सधैं देखियो । यही भोकका कारण प्रतिपक्षी हाडजीब्रो नभएको भनेर पार्टीमै आलोचना हुने गरेको छ । दुई तिहाइ जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको ध्रुवीकरणमा देउवाको मौनता धेरैलाई पचेको छैन । त्यसो त संविधानको स्वामित्व कांग्रेसले लिने गरेको छ ।

    सबैले त हैन, एक तप्काले सुशील कोइरालालाई ‘संविधानका पिता’ भनेर सामाजिक सञ्जाल पोत्ने गरेका छन् । तर वर्तमान प्रधानमन्त्रीले शक्ति उन्मादका कारण संविधान दुरुपयोग गरेको सन्दर्भ उठिरहँदा शेरबहादुर देउवाको मौनता अस्वाभाविक छ । एकथरि कार्यकर्ता प्रचण्ड–माधवतिर बाँडिएका छन अर्काथरि देउवासंग लोलीमा बोली मिलाएका छन् । लाजगालका लागि विरोधका कार्यक्रम त गरिएका छन तर त्यसमा प्राण देखिदैन । 

    नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु लाज, धर्म, शर्म र कर्म सबै रित्याएर एकअर्कालाई सिध्याउन अग्रसर भएका बेला देउवा मात्र एउटा पात्र थिए, जसले संविधानको अभिभावक भएर उनीहरुलाई खबरदारी लगाउन सक्थे । साँच्चै भन्ने हो भने राजनेता बन्ने अवसर समयले दिएको थियो । तर केही थान लाभका पदमा अल्मलिँदा देउवा त्यो अवसरबाट मात्र चुकेनन कि पार्टीलाई नै न हाँस, न बकुल्लोको चालमा पुर्याए । दुवै पक्षले मिल्काएको उधारो ‘प्रधानमन्त्री’को आश्वासन ईन्कार गर्न नसक्नु देउवाको अर्को कमजोरी हो । ‘आत्मालोचना’ नामको सानो क्षेप्यास्त्र मिल्काइदिनासाथ लोग्ने स्वास्नीको झगडाजस्तै फेरि कम्युनिष्ट एक भए भने आश्चर्य नमान्दा हुन्छ । त्यो बेला कांग्रेसको मौनता र उधारो लोभको के अर्थ हुन्छ ?

    बिहिवार, फाल्गुण ६ २०७७१२:२८:४४

    सुजता अम्गाई

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै