पत्रकारबाट असुरक्षित पत्रकारिता

पत्रकारबाट असुरक्षित पत्रकारिता

  • 742
    SHARES

  • पत्रकारबाट असुरक्षित पत्रकारिता

    २६ औं महाधिवेशनमा आइपुग्दा नेपाली पत्रकारिताको अनुहार एकपल्ट आफैंले ऐनामा नियाल्नुपर्ने अवस्था छ । समस्या आफ्नो अनुहारमा हुने तर बारम्बार ऐना पुछिरहने प्रवृत्तिबाट नेपाली मिडियाग्रस्त छ । देशको चौथो अंगको परिचय पाएको सञ्चारक्षेत्र अंग न भंग हुँदै जानुको कारण खोज्ने साहस कसैले जुटाउन सकेको छैन् ।

    राजनीतिक दलमा पानी पर्दा मिडियाकर्मीले छाता ओढ्नुपर्ने, दलको छायाँभित्र व्यावसायिक मूल्य खोज्नुपर्ने, दलले पत्याएका पत्रकारको आवरणमा रहेका कार्यकर्ता उम्दा पत्रकार हुने यो अवस्थाको अन्त्यको अपेक्षा गर्नु नै अशिष्ट कर्मभित्र पर्छ । पत्रकार पनि देशको नागरिक हो । यहाँका रोग, भोक, शोक र उत्पीडनले स्वाभाविक उसलाई नदुख्ने प्रश्नै रहेन । आगोले उसलाई पनि पोल्छ । हिउँ ठिहिर्याउँछ । पीडामा आँखाबाट आँसु झर्छ । चुनावमा मताधिकारको प्रयोगमा आफ्नो विवेक प्रयोग गर्ने छूट छ । यस अर्थमा ऊ आममानिस नै हो । तर उसलाई बोक्न दिएको कलम नामको हतियार रहेका मितिसम्म देश र जनताप्रति केही जवाफदेहीता छ, जुन हरेक पेशाकर्मीबाट अपेक्षा गरिन्छ । रहर र लहडका भरमा त्यो बौद्धिक हतियार प्रयोग गर्दा समाज दुर्घटनाको बाटोतर्फ अग्रसर हुन्छ ।

    images

    मिसन पत्रकारिताको यात्रा सकिएको छ । देशमा लोकतान्त्रिक व्यवस्था छ । अझ सात दशकको राजनीतिक रस्साकस्सीपछि जनताले आफ्नै हातले लेखेको संविधान छ । सामाजिक सञ्जालको पहुँचले आममानिसमा चेतनाको स्तर माथि उठेको छ । वाक स्वतन्त्रतामा तगारो लगाउने साहस कतैबाट सम्भव छैन । यो अवस्थामा मिडिया राजहाँस हुन जरुरी छ । जुन विषयले देशहित हुन्छ, त्यो एजेण्डा देशको मुटु हो । लोकतन्त्र मिडियाको आत्मा हो । लोकतन्त्रविनाको पत्रकारिता र स्वस्थ पत्रकारितालाई छुट्याएर लोकतन्त्रको परिकल्पना सम्भव छैन ।

    ०७ सालको जनक्रान्तिपछि आएको राजनीतिक परिवर्तनलाई मापक ठान्ने हो भने यहाँको लोकतन्त्रले जनताको मुहारमा परिवर्तन ल्याउन सकेन । शक्ति र सत्ताको भुमरीमा परेर पत्रकारिता धर्मरायो । ६ दशकअघि त्यो बेलाका पत्रकारले लेखेका शब्द अक्षरश वर्तमान राजनीतिसंग मेल खान्छन् । २०१७ सालमा राजा महेन्द्रले संसद विघटन गर्दा उच्चारण गरेका बाध्यताका शब्द दुई तिहाई मत प्राप्त केपी शर्मा ओलीले त्यही भाषा दोहोर्याएका छन् । २०१५ सालमा बीपी कोइरालाले आफ्नो नेतृत्वमा सरकार गठन गरेपछि मदनमणि दीक्षितको सम्पादनमा ‘समीक्षा’ पत्रिका प्रकाशन आरम्भ भयो । उक्त पत्रिकाको लगानीकर्ता बीपी थिए । बामपन्थी झुकाव भएका दीक्षितलाई ‘वाचडग’को जिम्मेवारी दिएर पत्रिका प्रकाशन गर्न लगाएका थिए । राजा महेन्द्रले लोकतन्त्रमाथि धावा बोलेपछि पञ्चायती शासनमा पत्रकारिताले निर्देशित समाचारमा आफूलाई विनिमय गर्यो । 

    पञ्चायतको अन्त्यसंगै लोकतान्त्रिक व्यवस्थाले मिडियालाई चौथो अंगको विशेषण दियो । देशैभरि एफएम रेडियो खुले । एउटा समाचारका लागि हप्ता पर्खनुपर्ने दिनको अन्त्य हुँदै आयो । नेताका भाषण बाहेक गाउँमा फलेको ठूलो फर्सी, फस्टाएको बाख्राको पाठो समाचार बन्छ भन्ने उदाहरण देशैभरि फैलिएका सञ्चारमाध्यमले दिए । माओवादी जनयुद्धमा देश तहसनहस भएका बेला पनि सञ्चारक्षेत्र निर्भिकतापूर्वक उभियो । आवाज र कलम दबाउँछु भन्नेहरु आफैं सकिदै गए । सामान्य लघु उद्योगमा सीमित सञ्चारक्षेत्रमा करोडौं, अरबौं लगानी हुन थाले । स्कुल कलेजमा पत्रकारिता बढेका जनशक्ति तयार हुँदै गए । यसक्षेत्रमा लगानीको बाटा फराकिलो हुँदै गयो । राजनीतिक दलपिच्छेका अखबार निकालेर ताली र गालीमा उत्रिने प्रवृत्तिलाई सूचना प्रविधिमा आएको फड्कोले रातारात डाइनोसर बनाइदियो । मानिसका हातमा सूचना सञ्चार हुनथाल्यो । प्रविधिले सबै मानिसलाई एउटै स्तरमा ल्यायो । यो सुखद पक्ष हो । 

    सूचना प्रविधिको क्रान्तिसंगै दलगत पत्रकारिता व्यक्तिमा सर्यो । अनलाइन मिडियाको बाढीसंगै झोले पत्रकारिताको बाढी आयो । एउटा व्यक्तिलाई सिध्याउन अर्को व्यक्तिको लगानीमा पोर्टल खुल्न थाले । दिउँसै रात पार्ने अमर्यादित र भद्दा सूचनाले नेपाली समाजलाई दिग्भ्रमित गर्न थाल्यो । फेसबुक र न्यूज पोर्टलमा आउने सूचनामा फरक देखिन छोड्यो । समाचारको आतंकबाट पत्रकार नै त्रसित हुनुपर्ने अवस्था आउन थाल्यो । २२ सयको हाराहारीमा न्यूज पोर्टल दर्ता हुनु नै ठूलो समाचार हो । त्यसबाहेक युटुबमार्फत पत्रकारिता गर्नेहरुको त्यतिक्कै ठूलो जत्था छ । कमिलालाई हात्ती बनाएर प्रस्तुत गर्नु यसखाले मानिसको दैनिकी हो ।
     
    दल टुक्रिएसंगै यहाँ पत्रकार टुक्रिन्छन् । एउटै पार्टीका दुई नेता बाझाबाझ गर्दा भोलिपल्ट सम्पादकीय अलग, अलग आउँछ । पत्रकारको महाधिवेशनका प्रमुख अतिथिको छनोटमै फरक पर्छ । वक्ताहरुको रोलक्रम फेरिन्छ । नेताहरुको छायाँमा पत्रकारिता पर्नु रहर या बाध्यता के हो ? नेताले खोक्दा पत्रकारलाई ज्वरो किन आउँछ ? नेताको भाषणका अगाडि जनताको रासन समाचार बन्ने दिन कहिले आउला ?

    बिहिवार, फाल्गुण ६ २०७७०२:२५:०९

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै