Logo

राजनीति

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन: नेता साउद



नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताए । उनले भने, “नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण गर्न चाहन्न, तर कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।”

सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उनले दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई फसाउन नहुनेमा जोड दिए । उनले भने, “भागरथीको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् भन्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ, यसमा कुनै दाषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपरोस्, यतातिर सजग भएर प्रशासनले कदम चाल्नुुपर्छ ।” 

वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत भएको उनको भनाइ थियो । “प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत हो तर अहिले नै हामीले आन्दोलनमा जानु उपयुक्त होइन”, उनले भने, “विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ, अदालतको फैसला पर्खिएका छौँ, अदालतको फैसला मान्छौँ ।”

प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार  ८ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।