Logo

राजनीति

रामचन्द्र पौडेलको प्रश्न :  बैशाख २७ गतेपछि नेपालमा शासनको अथोरिटी को संग हुन्छ ?



नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको बताएका छन् । शुक्रबार धरानस्थिति वीपी पार्कमा वीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै  पौडेलले भने, ‘हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो । शेरबहादुर देउवाले विघटन गरेको संसदलाई  आन्दोलनबाट फर्काएको हो नि । फेरि इतिहाँस नदोहारिओस २०६२ ६३ को जस्तो ।’

पौडेलले अदालतले संसद विघटनलाई सदर गरे फेरि आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन आउने बताए । उनले भने, ‘अदालतले संसद विघटनलाई सदर गरोस् अनि फेरि ठूलो आन्दोलन होस अनि त्यही आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस् ।’

उनले आगामी बैशाख १७ र २७ गते चुनाव नहुने दाबी गरे । ‘यो चुनाव हुनेवाला छैन  । बैशाखको २७ गतेपछि शासनको अधिकार को संग हुन्छ । चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसंग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार को संग हुन्छ ?,’ पौडेलको प्रश्न छ ।

त्यसो हुँदा मुलुकमा अराजकता आउने उनले बताए । ‘त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दहरुले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए । जोसंग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए । जोसँग हतियार छ उहि शक्तिशाली हुने दिन आउछन् । कोसंग हुन्छ शासन गर्ने अधिकार । मुलुकमा यस्तो अवस्था आउँदै छ,’ उनले भने ।

यो अवस्था आउँदै गर्दा नेपाली काँग्रेसले मुलुकलाई वेवारिसे छोड्न नहुने पौडेलका भनाइ छ । ‘मेरो पार्टीमा पार्टीका नेताहरुसँग यही आग्रह हो । नेपाली काँग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा काँग्रेस रमिते बन्न हुँदैन । काँग्रेस देशको वारेस हो । काँग्रेस देशको भरोसा हो,’ उनले भने, ‘हिजो राजा थिए । आजको भरोसा राजनीति दल नै हुन् । राजनीति दलहरुलाई पनि नेपाली जनताले भरोसा गरेका थिए । ती जनतालाई धोका दिएर कता कता पुगे ।’

त्यसैले मुलुक र जनताको भरोसा काँग्रेस नै भएको बताए ।  उनले भने, ‘काँग्रेस सहि बाटोमा सही ढंगले उभिएन भने यसलाई भरोसा किन गर्ने ? जनताले भरोसा नै गर्ने ठाँउ पाएनन भने के हुन्छ ? अब हामीले भन्नुपर्छ मुलुक र जनतालाई भरोसा दिन्छौ । संविधान र लोकतन्त्र जोगाउछौं ।’

नेपाली जनताको ७० वर्ष सम्मको पसिना खेर जान नदिने  पौडेलले बताए । ‘यो परिवर्तन हामी जोगाउछौं भनेर काँग्रेसले भन्नुपर्छ । यो संविधान र यो लोकतन्त्र जोगाउनका लागि हामीले कुनै पनि मुल्य चुकाउनुहुँदैन् । त्यसो भएका हुनाले यो प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्छ । अहिले हेर्दा त सरक्क चुनाव हुन्छ हामी जितिहाल्छौ भन्ने होला । संसद पुनःस्थापना हुँदा मन्त्री बन्ने सांसद बन्ने सवै उनीहरु नै हुन्  । चुनाव भयो भने हामी जितौला तर अहिले हामीले तत्कालिन फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने?,’ पौडेलको प्रश्न छ ।

आफूले पार्टीमा संवैधानिक अंगका नियुक्तीको खारेजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविस्वासको प्रस्तावको पक्षमा मतदान गरौ भन्ने प्रस्ताव राखेको पौडेलले बताए । उनले भने, ‘तर मेरो प्रस्ताव पास भएन् । पार्टी निर्णय विहिन भएर बसिराखेको छ । हामी निर्णय विहिन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो मुलुकलाई बाटो देखाउने हो ।’

प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार  ७ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।