Logo

गणतन्त्रको छायाँ, राजाको माया



पूर्वराजा ज्ञानेन्द्र पत्नीको शुभजन्मोत्सवमा खुलेर नाचेका छन् । पूर्वराजा हाँस्दा मात्र पनि २०६ वटा हड्डी खुम्च्याउने गणतन्त्रवादी नेताहरु छमछमी नाचेको देखेपछि त मुर्छा परेको समाचार आयो भने पनि आश्चर्य नमाने हुन्छ । अझ अर्को संयोग त के छ भने वर्षौंदेखि घर छोडेर हिँडेको पूर्वयुवराज पारसको घर फिर्ती अर्को अनौठो संयोग हो । फुट्नु मुख्य समाचार बनिरहेको सन्दर्भमा पूर्वराजाको पारिवारिक मिलन आफैंमा ठूलो समाचार हो । नेपालमा बाघ कराउनु र बाख्रो हराउने प्रचलित मान्यता उक्ति मात्र नभई प्रलय पनि हो ।

मिलको फित्ता झैं घुमिरहने तर यात्रा तय नगर्ने यहाँको राजनीति ‘म्युजिकल चियर्स’ भन्दा पर कहिल्यै गएन । व्यवस्थाले जनताको अवस्थामा कहिल्यै सुधार ल्याएन । बरु दशकअघिको शासन सम्झिएर अहिले बाँच्नुपर्ने विडम्बनाको साक्षी बन्नुपरेको छ । नेपालको राजनीतिले कोल्टे फेर्न लागेकै हो ? अब मुलुकको कुर्सीले कसलाई पर्खेको छ ?

यहाँको विकसित राजनीतिलाई सिनेमाको प्लट मान्ने हो भने कुन पात्र कहाँ खडा हुँदैछन् ? सक्रिय राजतन्त्र पाखा लागेर बहुदल आयो, बहुदलको भोग पुगेपछि गणतन्त्र ल्याइयो, अब कहाँ जान्छ ? के गणतन्त्रको विकल्प राजतन्त्र हो ? खेलको नियम परिवर्तन हुन लागेको हो कि खेलाडी ? यस्ता प्रश्न सघन बनेका छन् । गणतन्त्रका महारथीबाटै गणतन्त्रमाथि धावा बोलेका स्वर बाक्लै सुनिन थालेका छन् । प्रधानमन्त्रीको कुर्सी छाड्नुपरेको अवस्थामा कुर्सी नै भाँचिदिने दम्भ मुलुकको कार्यकारी पदमा आसीन व्यक्तिभित्र छ ।

गणतन्त्रका लागि ज्यान हत्केलामा राखेर हिँडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पूर्वराजाको व्यवस्थापनका विषयमा चिन्तित देखिन थालेका छन् । आफूले चाहेअनुसारको परिणाम नआए सडकबाट संसद पुनस्र्थापना गर्ने धम्की तीन पूर्वप्रधानमन्त्रीले दिन थालेका छन् । आफ्नो अनुकूल फैसला नआए सरकार नै आन्दोलनमा उत्रने प्रधानमन्त्री ओलीको चेतावनी छ । कानले सुनेर फैसला गर्ने एउटा निर्धो न्यायाधीश शक्तिसंघर्षको चेपुवामा परेपछि उसको मनोविज्ञान कस्तो हुन्छ ? भारतमा इन्दिरा गान्धीको दादागिरी चरम चल्यो । उनले संकटकाल लगाइन । तर एउटा हिम्मती न्यायाधीशले इन्दिरा गान्धीको दादागिरीको पारो झारिदिए । 

यो देशमा व्यवस्था आउँछ तर मलजल अर्को व्यवस्थाको हुन्छ । पञ्चायतमा पञ्चायतन्त्र रमाउँदैन । बहुदलमा समावेशीता फाप्दैन । गणतन्त्रमा राजतन्त्रको व्यापार फस्टाउँछ । व्यवस्था बलियो नेताको इमानदारीले हो । सबै तन्त्रको केन्द्रविन्दु जनता हो । असल नेता तीन करोड जनताको व्यवस्थापक हो । नेता फेल हुनु व्यवस्था फेल हुनु होइन । यहाँ नेताको असफलतासंगै व्यवस्थालाई दोषको भारी बोकाउने गरिएको छ । व्यवस्था फेरिएर जनताको अवस्था फेरिएन भने सत्ता र शक्ति जागिर खाने थलो मात्र बन्छ । 

प्रकारान्तरले गणतान्त्रिक व्यवस्थामाथि नेताकै गतिविधिले प्रश्न उठ्न थालेको छ । राजाका समर्थकहरु हाकाहाकी राज्यका संवेदनशील निकायमा मनोनयन हुन थालेका छन् । नेपालको राजनीतिमा प्रत्यक्ष सरोकार राख्दै आएका भारतीय जनता पार्टीका नेताहरुले राजनीतिक कोर्स परिवर्तन हुने संकेत गर्न थालेका छन् ।

नेपालीका भन्दा पनि एमसीसी र बीआरआई विषयले देशको राजनीतिको बाटो तय गर्ने हो । देशलाई सार्वभौम मुलुक बनाउने या रत्नपार्क त्यो नेताहरुकै हातमा छ । बहुमत र अल्पमतको संसदीय गणित लाटासोझा झुक्याउने खेल मात्र हो । दलालीतन्त्रका अगाडि लोकतन्त्र, गणतन्त्र त डमी मात्र हो । 

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  १० : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।