मंगलवार, फाल्गुण ११ २०७७
काठमाडौँ
नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको सुरुवात गरेकोछ ।
नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयालले क्यूआर कोडमार्फत भुक्तानी गरी सेवा सुरु गरेका हुन्।
अब यो बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत खरिद गरेको तरकारी÷फलफूलको रकम सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा फुयाल, राष्ट्र बैंक भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख यज्ञप्रसाद शर्मा, भैरहवा शाखाका प्रबन्धक लिलाप्रसाद ओझा, लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति थियो।
नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ। छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु क्युआरमा आकर्षित भइरहेका छन्।
नबिलका देशभर २००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु छन्।