मंगलवार, फाल्गुण ११ २०७७
काठमाडौँ
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएका चारजना सर्वसाधारणको उद्धार गरेका छन्। जनकपुरबाट जीतपुर जाने क्रममा निजगढ जंगलमा सवारी दुर्घटनामा परेर छटपटाइरहेका ४ जना सर्वसाधारणको उद्धार गरी अहिराजले अस्पताल पुर्याएका हुन् ।
ना ५६ प ७३६५ र बिआर ३० जे ९३९७ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका हुन् । घाइतेको चन्द्रनिगाहपुरमा भइरहको छ । झाले यसलाई ‘नागरिकको सुरक्षा पहिलो जिम्मेवारी’ भनेका छन्।
झाले आफ्नो पदीय हैसियतभन्दा मानवीयतालाई ख्याल गर्दै सडक दुर्घटनाका घाइतेको उद्धार गरेका हुन्। सुरक्षाका हिसाबले प्रदेश प्रमुखको प्रोटोकल महत्वपूर्ण मानिन्छ। तर उनले सुरक्षा प्रोटोकल तोड्दै नागरिकको उद्धारमा निस्किए।
प्रदेश २ को राजधानी जनकपुरबाट अगाडि पछाडि सुरक्षाकर्मीसहित गाडीमा सवार झाले मानवीयता देखाउँदै दुर्घटनाका घाइतेको उद्धार गरेपछि उनको प्रशंसा भएको छ।
उनले सवारी दुर्घटनामा परेको देखेपछि आफ्नो गाडी रोक्न लगाई घाइतेलाई आफू सवार गाडीमा राखेर चन्द्रनिगाहापुरको अस्पतालमा आफ्नो सुरक्षाकर्मीसहित पठाएका हुन् ।
‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी हो’, प्रदेश प्रमुख झाले भने, ‘अन्य कार्यक्रम भन्दा पनि नागरिकको ज्यान बचाउने कार्य महत्वपूर्ण हुन्छ ।’ झा केही दिन अघि मात्रै प्रदेश प्रमुखमा नियुक्त भएका हुन ।