Logo

प्रमुख समाचार

तमु ल्होसार कहाँ र किन मनाइन्छ ?



तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दु जातिको भारतीय पात्रो विक्रम सम्वतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।

गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै– कास्की, गोरखा, लमजुङ, तनहुँ, चितवन, दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ काठमाडौँ आदि । नेपाल बाहेक विश्वका विभिन्न देशहरू जस्तै– बेलायत, अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत आदि देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ । देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन् ।

प्रकाशित मिति : पुष १५, २०७८ बिहीबार  १० : ४२ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।