Logo

उद्योग

एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किरातीलाई चेम्बरको सुझाव



नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष आग्रह गरेको छ ।

मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किरातीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझावसमेत दिएको छ । सुझावपत्र पेस गर्दै अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ ।’

मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधी बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपालका महत्वपुर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनीलगायतका क्षेत्रको अन्तर्राष्ट्रियस्तरमै प्रर्वद्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचीमा परेका स्थललाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने मल्लको भनाइ छ ।

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन (ईयू)को ब्ल्याक लिस्टबाट हटाउनका लागि कूटनीतिक पहल गर्नसमेत अध्यक्ष मल्लले मन्त्री किरातीसमक्ष आग्रह गरे ।

यसैगरी नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब सुरु गर्नुपर्नेमा मल्लले जोड दिए ।

विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउनसमेत मल्लको सुझाव थियो । मल्लले भने, ‘भारतीय पर्यटकले नेपाल आउँदा भारु अधिकतम २५ हजारमात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले वाञ्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तिमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ ।’

मन्त्री किरातीसमक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिसा शुल्क निशुल्क गर्नुपर्ने बताएका थिए ।

चेम्बर पदाधिकारीसँगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउन योजना बनाइरहेको जानकारी दिए । उनले भने, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्कदेखि हवाई भाडासम्म निकै महँगो पर्ने गरेकाले नेपाल आर्कषक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण सुरु गरेको छु।’

किरातीले पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको बताए ।

प्रकाशित मिति : माघ २५, २०७९ बुधबार  १० : १९ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।