Logo

प्रमुख समाचार

मृत्यु देखेको दिन



जब बेजोडले पानी पर्छ, जब खोलामा बाढी आउँछ, जब गोठमा जनवारहरू चर्काे आवाजमा कराउँछन्, जब मान्छेको आँखामा डरको घुम्टो ओडिन्छ, तब मेरो आँखामा मोरङ जिल्लाको बक्राहा खोला नाच्दछ ।

मैले वसन्तलाई मेरो जिन्दगीबाट पन्ध्रवटा डिलपछाडि लगेँ भने त्यो दिनमा पुग्दछु । जहाँ मेरा आँखाले कहिल्यै नदेखेको दृश्य देख्यो, कानले चर्को आवाज सुन्यो, मुटुले डरको गति मापन गर्यो ।

मलाई जीवनको भेलले बगाइरहँदा, मोरङको इटहरामा केही वर्षलाई म अल्झिएको थिएँ ।

भदौ महिना आफ्नै गतिमा दौडिएको थियो । पानीले बर्खालाई नटेरी जोड जोडले परिहेको थियो । मलाई पानीसँग मतलब थिएन । उसको काम पर्ने हो पर्छ भन्ने लाग्दथ्यो । भदौ बिदा भएर गएपछिको असोज महिनाको प्रतीक्षा थियो । असोजमा दशैँ जो थियो । दशैँ मेरो १०/१२ वर्षे मस्तिष्कमा शिव ताण्डव नाचे झैँ नाच्नेक्रममा थियो । दशैँ एउटा चाडमात्र थिएन । सायद बाल्यवस्थामा दशैँ कसैको लागि चाडमात्र हुँदैन । दशैँ त शृङ्खलाबद्ध मासु हुन्छ, कपडा हुन्छ, पैसा हुन्छ र सबैभन्दा ठूलो कुरा एक महिना बिदा हुन्छ ।

सिमसिम पानीले धाद्रा गाउँमा आफ्नो हैकम जमाएको थियो । तीन दिनबाट पानी रोकिने कुनै छाटकाँट थिएन । पानीले बगेर आफ्नो धर्म निभाइरहेको थियो । हामीले छाता, घुम ओडेर कामको धर्म निभाइरहेका थियौँ । बारीमा घाँस भए पनि घाँस जोगाउने योजनामा सम्पूर्ण गाउँलेले आफ्नो गाईवस्तु बक्राहा खोलाको बगरमा पुर्याउँथे । केही दिनबाट खोलामा पानीको बहाव बढेकाले गाईवस्तु गोठमै थिए । सरौतोमा काटेको कुटी र भुसले गाईवस्तुलाई हाइसन्चो नै थियो ।

मध्यरातमा पानीले टिनको आवाज बढाइरहेको थियो । आवाज बढे पनि निन्द्राले आफ्नो धर्म छाडेको थिएन । बालुवाटारले पनि आफ्नो धर्म नभुलिदिए हुन्थ्यो ।

बिहानको सूर्यसँग मेरो दोस्ती खासै जम्दैन । त्योबेला पनि र योबेला पनि । तर त्यो दिन म सूर्यभन्दा पहिले उठेँ । खासमा म उठेको थिइनँ, मलाई उठाइएको थियो (टिकटकबाट) । ममिकी दिदी वा मेरी ठूलीममिको आवाजसँगै म उठेको थिएँ । माथि मौरीवारी बाँधबाट पसेको खोलाले डिपु, माझी गाउँ, धाद्रा हुँदै तलसम्मका गाउँमा पानीको जन्ती पठाएको थियो । जन्ती जाँदा बिहे घरलाई छाडेर जसरी जन्ती गाउँघर पस्छन् त्यसरी नै बक्राहाको पानी खोला छाडेर गाउँ पसेको थियो ।

बाढी आएको केही दिनदेखि नै थियो । खोलामा पुल थिएन । खोला तर्न नसकेर खोलापारि हसन्दह, अमरदहका व्यापारी बराल जेठाको घरमा थन्किएका थिए ।

बिहानै खोला गाउँमा पसेपछि गाउँलेको हारगुहार सुरू भइसकेको थियो । बिहानै कम्मरसम्म आएको पानीले भान्साकोठा, गोठमा डेरा जमाएको थियो । गाउँमा प्राय सबै सबै घर टाँडे थिए । तर कमल मामाको घर भने एकतले थियो । अरूको भान्सा, गोठ भिज्यो तर कमल मामाको भने भान्सा, गोठसँगै कपडाहरू भिजे ।

हामी टाँडमा नै बसिरहेका थियौँ । कच्चा घर भएकाले घरमा क्षति होला भन्ने डर ठूलोबा गोविन्द बरालको आँखामा प्रस्ट देखिन्थ्यो । भण्डार कोठामाथि नै भएकाले चिउरा दालमोठ भिजेका थिएनन् । तल्लो घरका पबी, लीला, सपना हामीसँग आए । बिहानको खाना चिउरा र दालमोठमा नै सीमित भयो ।

पानी बिस्तारै घट्दै थियो, खोलामा होइन घरमा । सर्पहरू विनाडर पानीको सतहमा निस्केका थिए । पानीमा स्वाट्टै पस्न पनि नसकिने अवस्था थियो । तापनि मान्छेहरू रमित हेर्न निस्केका थिए । थाहा छैन दुःखमा रमित हेर्नैपर्ने हामीलाई मात्र हो कि अरूलाई पनि हो ?

पानीले आँगन देखाउन थालेको थियो । पानी घट्दै थियो । कहाँ के क्षति भयो भनेर मान्छेहरू निस्कन थालेका थिए । धानबारीमा बालुवाले पिङ खेलेको थियो । कसैको पनि धानबारी उठेको थिएन । र त्यो धान त्यो वर्ष उठ्नै नसक्ने गरी लडेको थियो ।
खोलाको बाढी हेर्न मान्छेहरूको जमात लस्कर लागेर गइरहेको थियो । घर नजिकैको कल्र्भटमा पानीको रफ्तार ज्यादै भएकोले मैले खोला जाने आँट गरिसकेको थिइनँ । पानी नाघ्न सक्नेहरू गइरहेका थिए, फर्कनेहरूले, ‘बाढी त कत्रो छ, सिसौ सबै बगाएछ, ए ! खोलाले बाँध भत्काउन लाग्यो, मगर साइँलाको घर पुरै डुबायो ।’ भन्दै आउँथे । यो सुन्दा कतिखेर पुगौँजस्तो लाग्थ्यो । भौँडाबाट आएका रमेश, रविन, अर्जुन भने एकपटक खोला हेरेर फर्किसकेका थिए ।

मध्य दिउँसो इटहरा चोकतिरबाट छ जनाको टोली खोला हेर्न भनेर आयो । छ जनामा प्रमिला सुनुवार हाम्रै ब्याचकी थिइन् । अरू पाँच जनालाई म चिन्दिनँ थिएँ । तर स्कुलमा देखिरहेको अनुहार थियो, नाम भने थाहा थिएन ।

आँगनमा पानी थिएन । हामी कमल मामाको घरमा बसिरहेका थियौँ । कति क्षति भयो भनेर मान्छेहरू आफ्नो हिसाब निकाल्दै थिए । प्रमिला आएको देखेर पबी उठी किनकि पबी पनि हाम्रै ब्याचकी थिई । उनीहरू खोला हेर्न गएको जाऔँ भन्दै आए आँगनमा । कमल मामाले, “लु पर्दैन”, भनेपछि उनीहरू सरासर गए । हामी उनीहरूलाई हेरिरह्यौँ ।

कल्र्भटको पानीको रफ्तार घटेको थिएन । उनीहरुलाई ठूलोबाले भन्नुभयो, “नजाओ पानी ठूलो छ ।” उनीहरूले टेरेनन्, गए ।
होली माथिको कल्र्भट पनि नाघेर पानी बगेको थियो । हामी उनीहरूलाई हेर्दै थियौँ । उनीहरू बिस्तारै पानीतिर गए । छ जनाले एकअर्काको हात समाएका थिए । उनीहरू कल्र्भट कटे, तर कल्र्भट कट्नासाथ अगाडि हुने केटी चिप्लिई । त्यो पानीको भौडीमा छ जना नै पसे । माइजू कराउनुभयो, “बगायो” त्यहाँ बसिरहेका सबै उठे र होलीतिर गए । म ठूलोममीलाई पछ्याउँदै गएँ ।

त्यहाँ पौडी खेल्न सक्ने कोही थिएन । आँखा अगाडि भेलले उनीहरूलाई डुबाउँदै निकाल्दै थियो । हल्लाले मान्छेहरू जम्मा हुन थालेका थिए । ‘सीताराम सिग्देल’ (नाममा ढुक्क छैन) आइपुग्यो । ऊ पौडीमा प्रखर थियो । पानीले केटीहरूलाई दहको बीचमा घुमाइरहेको थियो । सीताराम दहमा पस्यो । सीताराम पछि सानो बगर छेउका पौडेल दाइ पनि पसे (उनको नाम बिर्से) । उनीहरू जति दहको बीचमा पुग्दै थिए । त्यतै नै केटीहरूलाई पानीले ठेल्दै लाँदै थियो ।

मेरो आँखाले उनीहरूलाई छुटाएको थिएनँ । तर उनीहरूको हातबाट एकजना साथी छुटी । भङ्गालोले उसलाई पुर्यो । प्रहरीलाई राम दाइले खबर गरेका रहेछन् । प्रहरी पनि आइपुग्यो । पाँच जनालाई दहबाट निकालेर सञ्जुको घर पछाडि राखे । उनीहरू डुबेकी साथीको नाम लिँदै चिच्याइरहेका थिए । दहबाट पानी होली हुँदै बग्ने भएकाले उसलाई (डुबेकी) प्रहरीले खोज्न सुरू गर्यो । (यहाँ प्रहरी छिटो आएन, खबर ढिलो पुगेर हो ।)
हामी केटाकेटी नै थियौँ । मान्छेको हुलसँगै हामी पछिपछि लाग्थ्यौँ ।

उसलाई भेटिएन । तल तलसम्म खोज्नेहरू अझै तलसम्म पुगे तर भेटिएन । “पानीले बचाउँछ पनि पानीले मार्छ पनि” नेपालनी आमै यसै भन्दै घरतिर फर्किन् । मान्छेहरू प्रहरीलाई ‘तैँ खोज्’ भनेजसरी फर्किन सुरू गरेका थिए । हामी केटाकेटीहरू प्रहरीको पछि कुद्थ्यौँ ।
– अब के भटिनु ?
– कहाँ पुर्यायो नि बिचरीलाई ।
– कस्की छोरी हो ?
– कालले बोलाएछ ।
– कतिजना थिए छोराछोरी ।
यस्तै कुरा गर्दै मान्छे फर्कदै थिए । म पनि फर्किएँ । मैले केही नभनी फर्किएँ । मलाई यति थाहा थियो, ऊ अब कहिल्यै फर्किन्न ।
साँझले आफ्नो बाटो पर्खिरहेको थियो । राधाकृष्ण मन्दिरको चौतारीमा उनीहरूका अभिभावक आइपुगेका थिए । गाउँका मान्छे चौतारीमा छरिएका थिए ।

पाँच जनालाई सञ्जुको घरबाट चौतारीमा ल्याइयो । उनीहरूका आमा नै थिए ती सबै सायद । मन्दिरबाट खोला जाने बाटो घुमाउरो थियो । चौतारीमा रुवाबासी चलेको थियो । त्यहाँको दृश्य मैले त्योबेला बुझेको थिइनँ । कहिलेकाहीँ त्यो दृश्य सम्झन्छु डराउँछु ।

दृश्य
बगेका छोराछोरीहरूका सबैका आमाहरू आएका थिए । छोराछोरी आइपुगेका थिएनन् । आमाहरूलाई को हराएको हो भन्ने थाहा थिएन, तर एकजना चाहिँ हराएको भन्ने थाहा थियो । घुमाउरो बाटोमा उनीहरू लाइन लागेर चौतारीतिर आउँदै थिए । सुरूमा आफ्नी छोरी देख्ने आमा छोरीतिर बढेर अङ्गालिन्, यो क्रम पाँचजनासम्म चल्यो । कहिल्यै नर्फकिने एक आमाकी छोरी प्रहरीले तन्नामा पोको पारेर ल्यायो । हराउने छोरीकी आमा अरू आमा झैँ अगाडि बढ्न सकिनन् । उनी लडिन् । पाँचजना आइपुग्दा नै उनले ‘मेरी छोरी’ भन्दै चिच्याएकी थिइन् । सायद उनलाई त्यो बेला थाहा थियो, मेरी छोरी अब उभिएर आउँदिन । किनकि गाउँलेले भनिसकेका थिए, “छ जना आएका थिए, पाँचजना बचेका छन् । एउटी हराएकी छ । प्रहरीले तल बगरमा लास भेटेको हल्ला छ ।”

प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार  २ : २९ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।